अखिल नेपाल फुटबल संघ (एन्फा)ले पोखरामा ए डिभिजन राष्ट्रिय लिग फुटसल प्रतियोगिता गर्ने भएको छ । एन्फा फुटसल कमिटीले असोज २ देखि २२ गतेसम्म लिग गर्न लागेको हो ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा म्याट विछ्याएर खेलाउन लागिएको कमिटीका प्रमुख विनोद गुरुङले जानकारी दिए । लिगको तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि पनि फुटसल प्रतियोगिता गर्ने योजना रहेकोमा कोभिड संक्रमणका कारण पछि धकेलिएको हो ।

प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । पोखराका २ र अन्य प्रदेशका ८ क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
‘सबै खेलाडीको कोरोना परीक्षणपछि मात्रै खेलमा सहभागी हुन पाउनेछन् । काेराेनाविरुद्धकाे खोप लगाएका दर्शकले मात्र प्रवेश गर्न पाउँछन्,’ उनले भने, ‘जिल्ला प्रशासनसँग छलफल गर्दैछौं । कार्यक्रमको मोडालिटी फरक हुन पनि सक्छ ।’
कोभिड दोस्राे लहरपछि पोखरामा हुन लागेको यो नै ठूलो खेल इभेण्ट हो । एन्फाले लिगका लागि छनोट चरणका विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागी गराउन लागेको हो ।
यसअघि सातवटै प्रदेशमा छनोट चरणका प्रतिस्पर्धा भएको थियो । प्रदेश १ बाट फुटसल फाइभ धरान र दि राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब प्रालि, शंखमूल फुटसल प्रालि, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स फुटसल काठमाडौंले सहभागी हुन पाउनेछन् । गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासल प्रालि र सविन मेमोरियल फुटसल क्लब प्रालि सहभागी हुन्छन् । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसल प्रालि र झरना स्पोर्ट्स क्लब रुपेन्देही लिगका लागि छनोट भएका छन् ।
लिग विजेताले नगद १० लाख रुपैयाँ पाउने छन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक एन्फाले जनाएको छ । सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकीपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले पनि जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिगबाट एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजना हुने एएफसी फुटसल एसियन कप २०२२ को छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिम पनि छनोट हुनेछ ।