संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ९०३ जनालाई विभिन्न विभूषण, अलंकार तथा पदक प्रदान गर्ने घोषणा भएको छ । राज्यको तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषणहरू राष्ट्रपतिले प्रदान गर्ने व्यवस्था संविधानको धारा २७७ को उपधारा (१) ले गरेको छ ।
तर घोषणा भएको केही घण्टा नहुँदैदेखि विभूषण, पदकहरू अस्वीकार गरिएका समाचारहरू पनि सामाजिक सञ्जालहरूमा छाउन थालिसकेका छन् । कतिपय व्यक्ति विभूषणका हकदार हुन् कि होइनन् भन्नेमा पनि वहस हुन थालेको छ ।
यस्तैमा ‘सुप्रबल जनसेवाश्री’ विभूषणका लागि नाम घोषणा भएका पत्रकार हरिबहादुर थापाले विभूषण लिन अस्वीकार गरेका छन् ।
न्यूज पोर्टल इकागज डटकमका प्रधानसम्पादक रहेका थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद । विगतमा मलाई पदकका लागि पटक-पटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु । यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ । सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’
उनले राज्यले सम्मान नै गर्नुहुन्न भन्ने नभई सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्ने बताएका छन् । ‘कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ,’ उनले लेखेका छन् ।
यसैगरी कार्टुनिस्ट रवीन सायमीले ‘प्रवल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । विभूषण तथा पदक पाउनेहरूको सूचीमा सायमीको नाम ‘प्रवल जनसेवाश्री’ पदक पाउनेको ६६औँ नम्बरमा छ।
सायमीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकारले मलाई 'प्रवल जनसेवाश्री'बाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।'
९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको नाम पनि समावेश छ ।
माधवका पिता स्वर्गीय मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदक घोषणा गरिएको छ । उनको नाम प्रबल जनसेवाश्रीको दोस्रो नम्बरमा छ ।
यसैगरी, प्रचण्डकी बिरामी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ ।
अघिल्लो वर्ष ६ सय जनालाई विभूषित गरिएकोमा यसवर्ष यो संख्या ९ सय पनि नाघेको छ । एकातिर विभूषण तथा पदक पाउनेको संख्या वर्षेनी बढ्दो छ तर अर्कोतर्फ विभूषण वितरण विगतका वर्षहरूदेखि नै आलोचित हुँदै आएको छ । राज्यलाई गरेको योगदानका आधारमा दिइने विभूषण तथा पदकहरू आसेपासेलाई बढी वितरण हुने गरेको टिप्पणीहरू हुँदै आएका छन् । पदक पाउनेहरू राज्यले सम्मान गर्न योग्य व्यक्ति हुन् भन्ने स्पष्ट आधार नहुँदासम्म पदक पाउनेलाई समाजले सम्मानका दृष्टिले हेर्ने अवस्था आउँदैन । त्यस्तो नहुँदासम्म कतिपय व्यक्तिले पदक अस्वीकार गर्ने क्रम पनि जारी रहने छ ।