सरकारी विभूषण वरिष्ठ पत्रकार हरिबहादुर थापा र वरिष्ठ व्यंग्य चित्रकार रविन सायमीले अस्वीकार गरेको घोषणा गरेका छन् । दुवैले फेसबुकमा लेखेर अस्वीकृति जनाएका हुन् ।
न्यूज पोर्टल इकागज डटकमका प्रधानसम्पादक थापाले ‘सुप्रबल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका हुन् ।
२९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापासहित ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने निर्णय आज बिहान सार्वजनिक गरेकी थिइन् ।
उक्त सूचीमा थापाको नाम ‘सुप्रबल जनसेवाश्री’ पदक पाउनेको १२औँ नम्बरमा छ।
तर, थापाले फेसबुकमा लेखेका छन्, ‘आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद । विगतमा मलाई पदकका लागि पटक-पटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु । यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ । सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’
उनले राज्यले सम्मान नै गर्नुहुन्न भन्ने नभई सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्ने बताएका छन् । ‘कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ,’ उनले लेखेका छन् ।
कार्टुनिस्ट रवीन सायमीले ‘प्रवल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका हुन् ।
विभूषकणको सूचीमा सायमीको नाम ‘प्रवल जनसेवाश्री’ पदक पाउनेको ६६ औँ नम्बरमा छ ।
सायमीले सरकारबाट घोषणा भएको उक्त विभूषण आफूले ग्रहण नगर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् । उनले लेखेका छन्, ‘सरकारले मलाई 'प्रवल जनसेवाश्री'बाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।'
विभूषण पाउनेमा कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्मका ९ सय ३ जनाको नाम छ ।
नेपालको सबैभन्दा ठूलो मान-पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रदान गरिने भएको हो ।
मन्त्रिपरिषदका पूर्वअध्यक्ष सूवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गरेकी छन् ।
सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व. पोस्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने छ ।
उज्ज्वल कृतिमय राष्ट्रदीप मान-पद्वी सर्वोच्च अदातलतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाएका छन् ।
विभूषित हुने न्यायाधीशमा अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी पनि छन् ।
माधवका पितालाई प्रबल, प्रचण्ड पत्नीलाई प्रसिद्ध जनसेवाश्री
९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको नाम पनि समावेश छ ।
माधवका पिता स्वर्गीय मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदक घोषणा गरिएको छ । उनको नाम प्रबल जनसेवाश्रीको दोस्रो नम्बरमा छ ।
त्यस्तै, प्रचण्डकी बिरामी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ ।
सरकारले बाँड्ने विभूषण पाउने व्यक्तिको सूचीका कारण हरेक वर्ष विवाद र बहिष्कार हुने गरेको छ । समाजका अनेक विधामा योगदान गरेका वास्तविक व्यक्तिभन्दा जागिरे र आसेपासेलाई दिइने भएकोले यसको आलोचना हुने गरेको हो । जागिरेले काम बापत मासिक तलब पाइसकेपछि पहुँचकै भरमा विभूषण हत्याउने पञ्चायती परम्परा हो । पछिल्ला वर्षहरुमा आएर विभूषण समितिमा बसेका मुख्यसचिव र गृहसचिवले नै आफूलाई छान्ने गर्नाले पनि विभूषणको वजन घटेको हो । विवाद हुन सक्ने व्यक्तिको लहरमा केही अन्य व्यक्तिलाई स्वीकृति बिना नै राख्नाले लाखौं रुपैयाँमा बनाइएका विभूषण र तक्मा खेर जाने गरेको छ ।
.jpg)
