महोत्तरीमा आफ्नै बुवाले छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना बाहिरिएको छ । जिल्लाको बर्दिबास-११ स्थित खयरमारा बस्ने १३ वर्षीय आफ्नै छोरी (संगिता नाम परिवर्तन)लाई आमा नभएको बेला बलात्कार गरेर गर्भवती बनाएको खुलासा भएको हो । पीडित बालिकाकी आमा सुनिता सिन्दन(नाम परिवर्तन)का अनुसार उनी गर्भवती भएको तीन दिन अगाडि मात्र थाहा भयो । 'छोरीको १२ वर्षकै उमेरमा रजश्वला भएको थियो । चार महिनादेखि रजश्वला नभएपछि मलाई शंका लाग्यो अनि छोरीलाई सोध्दा त त्यो गर्भ आफ्नै श्रीमान्को पो रहेछ,' सुनिताले भनिन् ।
अहिले पीडित बालिकालाई खयरमारा बजारस्थित आफ्न्तका राखिएको छ । भालिकाका ३४ वर्षीय बुवा रामबहादुर सिंन्तान भने घटना बाहिरिएसँगै फरार भएका छन् ।
कसरी भयो घटना ?
रामबहादुरका एक छोरा र दुई छोरी छन् । पीडित संगीता जेठी छोरी हुन् भने अन्य दुई जना सानै छन् । आर्थिक रुपमा निक्कै कमजोर रहेको यो परिवार मजदुरी गर्न धादिङ्गको बीबी इटाभट्टामा काम गर्दै आएको थियो । इटाभट्टामा काम छोडेर सपरिवार असोजतिर कामकै खोजीमा भक्तपुर पुगेको थियो । श्रीमान् रामबहादुर र सुनिता दिउँसोसँगै मजदुरी गर्न निस्कन्थे । कहिलेकाहीं सन्चो भएन भन्दै रामबहादुर घरमै बस्थे अनि श्रीमती एक्लै काम गर्न जान्थिन् ।
कुरो कात्तिक महिनातिरको हो । सुनिता माइत गएकी थिइन् । पीडित बालिका संगीताका अनुसार बुवा रामबहादुरको गिद्दे नजर त्यही समयदेखि पर्यो । 'मम्मी मामाघर गएको बेला भाइ, बहिनी सुते अनि मलाई बाबाले जवर्जस्ती करणी गर्नुभयो,' पीडित बालिकाले भनिन्, 'मेरो मुख छोप्नुभयो, कराएमा मार्ने धम्की दिनुभयो । मलाई पटक-पटक करणी गर्नुभयो ।' यो विषयमा कसैलाई भने परिवारका सबै सदस्यलाई मारिदिने धम्की दिने गरेको उनले बताइन् । काम गर्दा समेत सन्चो भएन भन्दै घरमै बस्ने र छोरीलाई जबरजस्ती गर्ने गरेको छोरीले नै भनेपछि थाहा पाएको सुनिता बताउँछिन् ।
कसरी थाहा भयो गर्भवती भएको ?
महोत्तरीको खयरमारास्थित पूर्वीखोलामा बस्ने सुनिताका काकाको ७ मंसिरमा मृत्यु भयो । त्यसै कारण काकाको क्रिया बार्न श्रीमती २० मंसिरमा पूर्विखोला गाउँमा आइन् । त्यतिन्जेलसम्म श्रीमान्ले छोरीलाई त्यसो गर्लान् भन्ने उनले सोचेकी पनि थिइनन् । समयक्रमसँगै छोरी संगीताले वाकवाकी गर्दै खाना खान पनि छाडिन् । रजश्वला नभएको पनि चार महिना बितिसकेको थियो । आमा सुनिताको शंका बढ्दै गयो । उनले छोरीलाई दर्जनौं पटक केरकार गरेपनि छोरीले त्यस्लाई टार्दै आइन् । असह्य भएपछि सुनिताले १५ चैत्रमा छोरीलाई दुई, चार झापड हानिन् । त्यसपछि बल्ल उन्ले मुख खोलिन् कि आफ्नो पेटमा हुर्किरहेको बच्चा आफ्नै बुवाको हो । उनले आफू काकाको क्रिया बार्न महोत्तरी आएदेखिको गर्भ हुन सक्ने आशंका गरेकी छन् । पीडित वालिकाले पनि आमा महोत्तरी आएको बेला पटक-पटक करणी गरेको बताएकी छन् ।
पीडितलाई न्यायको लागि कहाँ पहल गर्ने थाहा नै छैन आफ्नै छोरीमाथि नीच हर्कत गर्ने श्रीमान्लाई कसरी सजाय दिलाउने भन्ने विषयमा सुनिता अहिले चिन्तित छन् । घटनाको विषयमा उनीहरूले केही स्थानीय सञ्चारकर्मीलाई जानकारी गराए पनि अझै सुरक्षाकर्मीलाई घटनाको विषयमा जाहेरी दिन सकेका छैनन् । कम उमेरकी बालिकाको पेटमा रहेको बच्चाको विषयमा समेत आमा सुनिताले निक्कै चिन्ता ब्यक्त गरिन् ।
घटना निक्कै जघन्य भएकाले बालिकाको न्यायको लागि जस्तोसुकै कदम चाल्न पछाडि नपर्ने मानवअधिकार आयोग मधेश प्रदेशकी प्रमुख मन्जु खतिवडाले बताइन् ।
वालिकाको संरक्षण गर्न निर्देशन दिइसकेको छु : प्रहरी उपरीक्षक मल्ल
बर्दिबास-११ खयरमाराको उक्त घटनाको विषयमा ध्यानाकर्षण भएको जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रकाश मल्लले बताए । बालिकाको संरक्षणको लागि विभिन्न संस्थासंग सहकार्य अगाडि बढाएको बताउँदै उपरीक्षक मल्लले बालिकाको अवस्था बुझिरहेको बताएका छन् ।
बुवालाई मृत्युदण्ड दिइयोस् : पीडित बालिका
आफूलाई जवर्जस्ती करणी गर्ने बुवालाई मृत्युदण्ड दिनुपर्ने पीडित बालिकाले बताएकी छन् । 'रातभरि पिटेर जबर्जस्ती गर्न लगाउंथे, उनी मेरा बुवा हुन नै सक्दैनन्,' बालिकाले भनिन् । आमा काममा गएको बेला पनि भाइबहिनीलाई बाहिर खेल्न पठाएर जबर्जस्ती गर्ने गरेको उनले बताइन् ।