वर्षाका कारण एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको खेल रद्द भएको छ । पोखराले १० ओभर १ बलमा ६५ रन बनाएर ७ विकेट गुमाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । वर्षाले खेल रोकिएपछि दुवै टोलीले १-१ अङ्क बाँडेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा भैरहवाका तीव्र गतिका बलर दुर्गेश गुप्ताको कसिलो बलिङमा निरीह बनेको थियो । ३ ओभर बलिङ गरेका दुर्गेशले १ मेडन ओभरसहित १६ रन खर्चिएर ३ विकेट लिएका थिए ।
यस्तै धमिका प्रसाद, अविनाश बोहरा र तुलबहादुर थापाले १-१ विकेट लिएका थिए ।
पोखराका एसेला गुणारत्नेले सर्वाधिक २३ रन जोडे । यस्तै विवेक यादवले १६ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अङ्क बनाउन सकेनन् ।
पोखराका रिचार्ड लेभी, कप्तान विनोद भण्डारी, लोकेश बम र केसरिक विलियम्स डक आउट भएका थिए ।
शनिबार सुरु भएको ईपीएल प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेन विजयी भएको थियो । काठमाडौंले सहरी प्रतिद्वन्द्वी ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको थियो ।
यस्तै आज भएको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्यो ।
प्रतियोगिताको तेस्रो दिन तथा सोमबार २ खेल हुनेछन् । पहिलो खेलमा काठमाडौं र विराटनगर तथा दोस्रो खेलमा चितवन र भैरहवा भिड्ने छन् ।