काठमाडौमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा लम्बिने भएको छ । मंगलबारदेखि जारी बैठक शनिवार सकिने कार्यक्रम रहेपनि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम भोलीसम्म नसकिने भएकाले बैठक लम्बिने भएको हो ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखीरहेका छन् । सबै सदस्यले आफ्नो धारणा राखेपछि पदाधिकारीकासाथै पार्टी अध्यक्षले जवाफ दिने कार्यक्रम रहेपनि अझै सदस्यहरुले बोल्ने क्रम बाँकीनै रहेको छ ।
बैठकमा बोल्नकालागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्यका साथै अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।
आजको बैठकमा बोल्दै उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचार विरुद्ध गरेको कामलाई समर्थन र स्वागत गर्नुपर्ने बताउँदै पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिए । पार्टी भित्र कसैलेपनि अध्यक्षको विकल्प नखोजेको र आफूले अध्यक्षलाई सम्पूर्णरूपले सहयोग गरेर जान तयार रहेको समेत पुनले बताए ।
सुन तस्करीमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाउँदै नेता पुनले यस सम्बन्धी अनुसन्धानमा पूर्णरुपले सहयोग गर्ने पनि बताए ।
यसैगरि अर्का उपमहासचिव जनार्दन शर्माले पार्टीलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्नेमा आफूले पहिलेदेखि नै आवाज उठाउँदा अध्यक्षलाई असहयोग गरेको भनेर प्रचार गरिएको गुनासो गरे । पार्टीलाई जनतासँग जोड्नुपर्ने, पार्टी पङ्क्ति उत्पादनमा होमिनुपर्ने, भौगोलिक र पर्यावरणीय, जातीय तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गरेर आर्थिक विकास, गरिबी अन्त्य, रोजगारी सिर्जना र आत्मनिर्भताका लागि पहल गर्नुपर्नेमा पनि शर्माले जोड दिए ।
पार्टीमा उत्तराधिकारीको लामबन्दी तयार गर्नुपर्ने बताउँदै शर्माले पार्टी अध्यक्षलाई सहयोग गर्दा समेत असहयोग गरेको आरोप लागेको पनि उनले गुनासो गरे ।
आजको बैठकपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष दाहालले बैठकले पार्टीलाई एकताबद्ध बनाउन मद्दत पुर्याएको बताए ।