उच्च शिक्षण संस्थाहरुले विद्यार्थी पाउन नसकेको र कलेजहरु खाली हुन थालेको चर्चा भैरहँदा सुदूरपश्चिम विश्वविद्यालयले नयाँ सम्बन्धन खुला गरेको छ । त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजहरुमा विद्यार्थीको संख्या निरन्तर रुपमा घट्दो छ ।
पाँच सय भन्दा बढी क्याम्पसहरुमा १ सय भन्दा कम विद्यार्थी रहेको तथ्याङ्क सार्वजनिक भैरहेको समयमा सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न ६ वटा सङ्काय अन्तर्गत सम्बन्धन खुला गरेको हो ।
विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, विज्ञान तथा प्रविधि, सिभिल इन्जिनियरिङ, व्यवस्थापन र कृषि विज्ञान सङ्कायकालागि सम्बन्धन खुला गरेको छ ।
बर्षेनी उच्च शिक्षाकालागि १ लाख भन्दा बढी विद्यार्थी विदेशिंदा नेपालमा पढ्ने विद्यार्थीको संख्या कम भएको हाल सञ्चालनमा रहेका कलेजहरुले बताइरहेका छन् । यसैगरि शिक्षाविद्हरुले समेत विश्वविद्यालयको संख्या बढ्दै जानु, विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरु समेत खुल्दै जानु र जथाभावी रुपमा सम्बन्धन बाँड्ने गर्दा विद्यार्थी घटेको बताउने गरेका छन् ।
अर्को तर्फ शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न नसक्ने विश्वविद्यालयका पदाधिकारीहरुले सम्बन्धन बाँड्ने काममा तदारुकता देखाउनु विडम्बना भएको भनी आलोचना समेत हुँदै आएको छ । यसैगरि शिक्षालाई शिपसंग जोड्न नसकेको, साधारण विषयलाई बढी जोड दिएको, प्राविधिक विषयलाई बेवास्ता गरेर बेरोजगार उत्पादन गरेको आरोप समेत विश्वविद्यालयहरुलाई लाग्दै आएको छ ।
१३ बर्ष अघी स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयमा हाल १७ हजार २ सय ३८ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । जसमध्ये करिब ५५ प्रतिशत विद्यार्थी मानविकी र शिक्षा शास्त्र संकायमा अध्ययन गरिरहेका छन् ।