प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ ।
राजनीतिक दलहरुबीच समितिको नेतृत्व कसले गर्ने भन्ने बारेमा सहमति हुन नसक्दा ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने समितिको नेतृत्व चयन हुन सकेको थिएन । नेतृत्व नहुँदा ज्येष्ठ सदस्यले समितिको सभापतिका रुपमा काम गर्दै आइरहेका थिए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेपछि निर्वाचन प्रक्रिया अघि बढेको हो । जस अनुसार सदस्यहरुले आज बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने छन् ।
यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेस चार, नेकपा (माओवादी केन्द्र) दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले नेतृत्व गर्ने सहमति राजनीतिक दलहरुबीच बनेको छ ।
प्रतिनिधिसभा नियमावलीमा सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए/गरेका कामकारबाहीका अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन र राय सल्लाह दिनसमेतका लागि संसदीय समिति रहने उल्लेख छ ।
यसैगरि कानुन निर्माणदेखि कानुनको परीक्षण, कार्यपालिकाको कामको अध्ययन, विश्लेषण, निगरानी र निर्देशनसम्म दिन सक्ने जिम्मेवारी संसदीय समितिलाई रहने गरेको छ ।
सङ्घीय संसद्मा प्रतिनिधिसभा मातहत १०, राष्ट्रियसभा मातहत चार र संयुक्त समितिका रूपमा दुई गरी १६ वटा विषयगत समिति रहेका छन् ।।