प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा निर्विरोध निर्वाचित सभापतिहरुले आ-आफ्नो पदको शपथ ग्रहण गरेका छन् । नवनिर्वाचित सभापतिहरुमलाई सभामुख देवराज घिमिरे शपथ ग्रहण गराएका हुन् ।
प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी दर्ता भएको थियो । एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका थिए ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता भएकोमा पराजुलीले उम्मेदवारी फिर्ता गरेपछि खान निर्वाचित भएका छन् ।
अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् ।
त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।
त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेलको निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् । यसअघि ज्येष्ठ सदस्यले समितिको सभापतिका रुपमा काम गरिरहेका थिए ।