वरिष्ठ पत्रकार तथा साहित्यकार राजेश्वर नेपालीको ७८ बर्षको उमेरमा हिजो राति निधन भएको छ । जनकपुरधामस्थित अस्पतालमा राति ८ बजे निधन भएको नेपालीको परिवारले जानकारी दिएको छ ।
विगत १४ महिनादेखि बिरामी भई उपचाररत नेपाली क्यान्सर रोगका कारण असोज १२ गतेदेखि ओछ्यान परेका थिए । जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट विसं २००२ भदौ १९ गते मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका थिए ।
जातपात र जातीकै आधारमा गरिने भेदभावको विरोध गर्दै उनले आफ्नो थरका रुपमा नेपाली लेख्ने गरेका थिए ।
विसं २०१५ मा 'जानकी नौवमी' कविता लेखेर र वाचन गरेर साहित्य लेखन र २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता सुरुआत गरेका थिए ।
नेपालीको पहिलो समाचार नेपाली कांग्रेसका तत्कालिन नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई पक्राउ गरिएको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा छापिएको थियो । जनकपुरमै बसेर पत्रकारिता गरेका नेपालीले काठमाडौबाट प्रकाशन हुने राष्ट्रपुकार, नेपालीवाणी, नेपाल टाइम्स लगायतका पत्रिकाहरुमा समाचार पठाउने काम गरेका थिए ।
साहित्यतर्फ समेत कलम चलाएका स्वर्गिय नेपालीले नेपाली, हिंदी र मैथिली भाषामा ८ वटा कविता संग्रह, तथा खण्डकाव्य प्रकाशन गरेका छन् ।
पत्रकारिताकै क्रममा प्रेस स्वतन्त्रता र प्रजातन्त्रको स्थापनाको माग गर्दै नेपाली पटक पटक जेल समेत परेका थिए ।
२०६८ सालमा राष्ट्रिय पत्रकारिता पुरस्कार पाएका नेपालीलाई नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो ।