मलेसियामा जारी आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले घरेलु टोलीलाई पाँच रनले पराजित गरेको छ ।
क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।
पचासी रनको विजयी लक्ष्य पछ्याएको मलेसियाको टोलीले ९ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई÷दुई तथा कप्तान रुबिना क्षेत्री बेलबासे र अश्मिना कर्माचार्यले एक एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालका लागि सीता राना मगरले अविजित रहँदै ३८, अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन् ।
नेपालले आफ्नो दोस्रो खेल भोली बहराइनसित खेल्ने छ । प्रतियोगितामा समूह ‘ए’ मा रहेको नेपालसंगै मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) रहेका छन् । त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् ।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल खेल्न पाउने छन् ।