एक वर्षभित्र दिवङ्गत भएका आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व मुलुकभरका नेवार समुदायले आज मनाउँदैछन् ।
भाद्र कृष्ण प्रतिपदाको दिन दिवङ्गत आफन्तको सम्झनामा परिवारका मानिसको सहभागितामा गाई र मानिसलाई ऋंङ्गारी बजार परिक्रमा गराउने गरिन्छ ।
मल्लकालीन अवस्थादेखिनै गाईजात्रा पर्व मनाउँदै आइएको छ । जात्राका क्रममा नगर परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्ति ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले भावविह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने सन्देश दिन ‘जनतालाई आ–आफ्नो घरमा एक बर्ष भित्र मरेका ब्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आदेश दिएपछि यो पर्व मनाउन सुरु गरिएको ऐतिहासिक भनाई छ ।
यसबाट पनि रानीको मन शान्त नभएपछि प्रहसन, नाटक र नाच प्रस्तुत गर्ने प्रचलन समेत शुरु गरिएको थियो । सोही समयमा सुरु गरिएको गाईजात्रा हनुमाढोकास्थित ‘राजप्रासाद’ भएर जानुपर्ने प्रथा हालसम्म जारी रहेको छ ।
विशेष गरी काठमाडौ, भक्तपुर, ललितपुरलगायत नेवारी समदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा नेवारी समुदायको बसोबास रहेका ठाउँहरुमा समेत मनाउने गरिएको छ ।
‘क्वाँटी पूर्णिमा’को उपमा दिइने यो जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि तिथिले आज नै परेको बताइन्छ । जनैपूर्णिमा र गाईजात्राको दुई दिन भने क्वाँटी खाने चलन रहँदै आएको छ ।