श्रीलंकामा जारी एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसंग १० विकेटले पराजित भएको छ ।
बर्षाका कारण २३ ओभरमा घटाइएको खेलमा भारतले १४५ रनको लक्ष्य पाएको थियो ।सो लक्ष्य भारतले बिना विकेटको क्षतिमा १७ बल बाँकी रहँदै सहज तरिकाले भेट्टाएको थियो । भारतकालागि कप्तान रोहित शर्माले अविजित रहँदै ७४ र शुभमान गिलले अविजित रहँदै ६७ रन बनाएका थिए ।
यो संगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने भारत एशिया कपको सुपर-४ मा प्रवेश गरेको छ ।
त्यसअघि भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । नेपालकालागि आशिफ शेखले सर्वाधिक ५८ तथा सोमपाल कामीले ४८ रन बनाएका थिए । कुशल भुर्तेलले ३८, दिपेन्द्र सिंह ऐरीले २९ र गुलशन झाले २३ रन बनाएका थिए ।
यसैगरि सन्दिप लामिछाने ९, भिम सार्की ७, कप्तान रोहित पौडेल ५, कुशल मल्ल २ र ललित राजवंशी शून्य रन बनाएर आउट भएका थिए । नेपालका करण केसीले अविजित रहँदै २ रन बनाए । भारतकालागि रविन्द्र जडेजाले ३, मोहम्मद सिराजले २ तथा मोहम्मद शामी, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १-१ विकेट लिएका थिए ।
एशिया कपको ग्रुप-४ मा पुग्नकालागि नेपाल र भारतलाई यो खेल जित्तै पर्ने दबाव थियो । आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसंग पराजित भएको थियो । यसैगरि भारत र पाकिस्तानबीचको खेल बर्षाका कारण अवरुद्ध भएपछि दुबै टोलीले १-१ अंक बाँडेका थिए ।