नेपालमा विगत १० बर्षमा कृषि क्षेत्रमा कमी आएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय कृषिगणनाको परिणाम अनुसार २०६८ सालमा २५ लाख २५ हजार हेक्टर क्षेत्रफलमा कृषिकार्य हुने गरेकोमा २०७८ सालमा यो घटेर २२ लाख १८ हजारमा पुगेको छ ।
कृषिगणना अनुसार कृषक परिवारको संख्याभने करिब ३ लाखले बढेको छ । यो संगै प्रतिपरिवार कित्ता संख्यासमेत घटेको छ । २०६८ मा यो संख्या ३.२ रहेकोमा २०७८ मा २.८ रहेको गणनाले देखाएको छ ।
सरकारले सिंचाईकालागि बर्षेनी करोडौं रुपैयाँ खर्च गरेपनि हालसम्म ५२ प्रतिशत कृषियोग्य जमीनमा मात्र सिंचाई पुगेको छ । जसमध्ये करिब ७३ प्रतिशत जग्गामा मात्र बाह्रै महिना सिंचाईको सुविधा पुगेको छ । विगत १० बर्षमा धान, गहुँ र मकैबाली लगाउने जग्गाको क्षेत्रफल घटेपनि तरकारी बाली र मसलाबालीको क्षेत्रफल भने केही बढेको छ ।
यसैगरि २०६८ को तुलनामा बगैंचाको रुपमा लगाइएको स्थायी बाली जस्तै आँप, केरा, सुन्तला, कागती र स्याउको क्षेत्रफल पनि बढेको छ ।
कृषि गणना अनुसार धानबालीमा विषादी प्रयोग गर्ने कृषक परिवारको संख्या २९ बाट बढेर ४४.६ प्रतिशत पुगेको छ । यसैगरि हाडब्रिड बीउ प्रयोग गर्ने कृषकको संख्या समेत ५.४ बाट बढेर १६.५ प्रतिशत पुगेको छ ।
नेपालको कृषि क्षेत्रमा यान्त्रिकरणको मात्रा बढेको छ । जसअनुसार ट्र्याक्टर, दुध दुहुने मेसिन, पावरट्रिलर प्रयोग गर्ने कृषकको संख्या बढेको देखिन्छ ।
यसअवधिमा गाईगोरुको संख्या १८ लाख ७० हजारले घटेपनि बाख्रा, खसी, बोका, च्याङ्ग्राको संख्या भने ३० लाखले बढेको छ ।
गणनानुसार घरायसी उपभोगकोलागि कृषि कार्य गर्ने परिवारको संख्या ६८.८ प्रतिशत रहेको छ भने व्यावसायिक तरिकाबाट कृषिकार्य गर्ने परिवारको संख्या १.१ प्रतिशत मात्र रहेको छ । यसैगरि ७०.४ प्रतिशत कृषक परिवारले आफ्नो मुख्य आम्दानीको स्रोत कृषिकार्यनै भएको बताएका छन् । यीमध्ये अझैपनि ५५ प्रतिशत कृषक परिवारले कृषिकार्यबाट भएको आम्दानीले बर्षभरि खान नपुग्ने बताएका छन् ।
७ सय ५३ वटै स्थानीयतह सम्मको कृषि तथ्याङ्क संकलन गरी सार्वजनिक गरिएको कृषिगणनामा कृषि ऋण/बीमा/अनुदानको अवस्था, कृषिकार्यमा जलवायु परिवर्तनको प्रभाव, कृषि बजारसम्मको पहुँच, माटो परीक्षण लगायतका विवरणहरु समावेश गरिएको छ । पहिलोपटक वि.सं. २०१८ सालमा शुरु भएको कृषि गणना नेपालमा हरेक १०-१० बर्षमा हुनेगरेको छ ।