नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा हेरफेर गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा गरिएको पछिल्लो कार्यविभाजनअनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् । महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामका साथै मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्नेछन् ।
पार्टीका सम्मानित नेता झलनाथ खनाल विदेश विभाग प्रमुख रहनेछन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएको पार्टी कार्यालयले जनाएको छ । पार्टीका प्रतिष्ठानहरूअन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपाललाई दिइएको छ ।
एकीकृत समाजवादीले पूर्व कृषिमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनित गरेको छ । पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए ।बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यही भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार उनीहरूलाई केन्द्रीय सदस्य मनोनीत गरिएको हो । नयाँ केन्द्रीय सदस्यहरुमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मीना लामा, रामप्रसाद ढुङ्गाना, लङ्क हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय मनोनित भएका हुन् ।