भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आजदेखि विधिवत समापन भएको छ । हिजो व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका हुन् । सामान्यतया: अरू व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका (तीज) व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ ।
भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका व्रतालुले पनि व्रत समापन चतुर्थीको बिहान गरेपछि मात्र भोजन गर्ने गर्छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेवलाई पति पाएकी थिइन् । पार्वतीले भाद्र शुक्ल तृतीयाको दिन देखि तपस्या शुरु गरेकाले सो समयदेखिनै हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका हुन्छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ ।
प्राचीनकालमा पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन रहेकोले धर्मकर्मका काम गर्ने जिम्मेवारी समेत महिलालाईनै दिइएको बुझिन्छ । शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको छ ।
तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । आज हरितालिकाको व्रत समापनसँगै भक्तजनले गणेशको पूजाआराधना गरी आजै गणेश चतुर्थी पर्व मनाउँदै छन् । सत्ययुगमा आजका दिन भगवान् शिव र पार्वतीका पुत्रका रुपमा गणेश भगवान्को जन्म भएको विश्वास गरिन्छ । यस वर्ष तिथिको घटबढका कारण ऋषिपञ्चमी पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।