दशैँबजारका रुपमा चिनिने सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सुपथ पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा सामग्री उपलव्ध गराउने उद्देश्य लिइएको मन्त्रालयको भनाइ छ । चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । तर केही वर्षयता चिनी यो बजारमा नपाइने गरेको छ । यसपटक पनि चिनी पाइने नपाइने अनिश्चित छ ।
ती पसलमा सबै किसिमका चामल, दालहरु, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो रू सातले सस्तोमा बिक्री वितरण हुनेछ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो र उवा र जिउँदो खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रू १० छुट दिइएको छ । यसवर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई रू दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ ।
साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले रू एक करोड छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनलले चिनी प्रतिकिलो रू ९७ मा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो रू दुई र तेल तथा चिउरामा प्रतिकिलो रू सात छुट दिनेछ । त्यस्तै, दूग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो रू २०, पनीर प्रति दुई सय ग्राममा रू २० र प्रति पाँच सय ग्राममा रू ५० छुट दिनेछ ।