नेपाली राष्ट्रिय क्रिकेट टोलीले विभिन्न कीर्तिमान कायम गरेको छ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट टोलीले मङ्गोलियासंगको खेलमा सो कीर्तिमान कायम गरेको हो ।
दुबै मुलुकबीच आज बिहान भएको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको थियो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ३१४ रन बनाएको थियो । यो रन टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा बनाइएको हालसम्मकै सबैभन्दा उच्च योगफल हो । यसअघि यो कीर्तिमान सन् २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध देहरादुनमा बनाएको थियो ।
सो खेलमा अफगानिस्तानले तीन विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो ।नेपालले दिएको ३ सय १५ रनको लक्ष्य पच्छ्याउने क्रममा मंगोलियाको टोली १३१ ओभरमा ४१ रन बनाएर अलआउट भएको थियो । यो संगै नेपालले सबैभन्दा बढी रन अन्तरले पराजित गर्ने कीर्तिमान बनाएको छ । यसअघि यो कीर्तिमान चेक रिपब्लिकले राखेको थियो । चेक रिपब्लिकले टर्कीलाई २५७ रनले पराजित गरेको थियो ।
यसैगरि नेपाली खेलाडी कुशल मल्ल टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ३४ बलमै शतक प्रहार गरेका थिए । कूल ५० बल खेलेका मल्लले १२ छक्का र आठ चौका प्रहार गर्दै १३७ रन बनाउँदै नटआउट रहे । यसअघि यो कीर्तिमान ३५ बलमा शतक बनाउने डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको नाममा रहेको छ ।
कुशल टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । मल्लले १९ वर्ष २०६ दिनको उमेरमा शतक प्रहार गरेका हुन् । सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने कीर्तिमान भने गुस्तव मेक्कोनको नाममा छ ।
यसै गरि दीपेन्द्र सिंह ऐरीले ९ बल खेल्दै ५० रन बनाएर सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा आफ्नो नाम लेखाएका छन् । यसअघी भारतिय खेलाडी युवराज सिंह, क्रिस गेल र हज्रातुल्दा जाजाईको नाममा १२ बलमा अर्धशतक बनाउने कीर्तिमान कायम रहेको थियो । ऐरीले पहिलो छ बलमा छ छक्का प्रहार गरेर अर्को कीर्तिमान बराबरी गरेका छन् ।
आजको खेलमा अर्धशतक प्रहार गरेका दीपेन्द्र सिंह ऐरीले स्ट्राइक रेटमा पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनले १० बलमा ५२ रन प्रहार गर्दै ५२० को स्ट्राइक रेट बनाएका छन् । दश बलभन्दा बढी खेल्ने कुनै पनि खेलाडीले हालसम्म ५०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छैनन् । यसअघि सन् २०१६ मा जिम्बाबेको घरेलु टी२० प्रतियोगितामा माल्क्लोम वालरले ४३० को स्ट्राइक रेटमा रन बनाएका थिए ।
नेपालले मङ्गोलियाविरुद्ध प्रहार गरेको २६ वटा छक्काले पनि नयाँ कीर्तिमान कायम गरेको छ । यसअघि सन् २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध तथा यसै वर्षको सुरुवातमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २२ वटा छक्का प्रहार गरेको थियो ।
नेपालले आफ्नो अर्को खेल अक्टोबर १ तारिखमा माल्दिभ्ससंग खेल्नेछ ।