नेपाली कराते खेलाडी एरिका गुरुङले १९ औँ एसियाली खेलकुदमा शनिवार ऐतिहासिक रजत पदक जितेकी छन् ।
हाङझावस्थित लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन् । फाइनलमा एरिका काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित भइन् ।
यसअघि एरिकाले सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ अङ्कले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन् । क्वाटर फाइनलमा एरिकाले जापानकी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैले समान १–१ अंक जोडे पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुग्न सफल भएकी थिइन् ।
एरिकाले नेपालका लागि एसियाडको करातेमा जितेको यो पहिलो रजत पदक हो । एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो ।
यसअघि नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत रजत र १८ औँ एसियाली खेलकुदमा नेपालको प्याराग्लाइडिङ पुरुष टोलीले टिम स्पर्धामा रजत जितेको थियो । नेपालका लागि यो समग्रमा तेस्रो र व्यक्तिगत स्पर्धामा भने दोस्रो एसियाड रजत पदक हो ।
कराते एसियाडमा नेपालका लागि पदक दिलाउँदै आएको खेल हो । यसअघि सन १९९४ मा जापानको हिरोशिमामा भएको एसियाडमा करातेबाट सीता राई, सन् १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडबाट विमला तामाङले कास्य पदक दिलाएका थिए ।
नेपाली टोलीका सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एरिकालाई ऐतिहासिक पदक जित्न सफल भएकोमा बधाई दिँदै एरिकाले सिङ्गो राष्ट्रको शिर उचो बनाएको बताए ।
‘‘मैले आफूले सकेको प्रदर्शन गरे । फाइनलमा सोफ्याले राम्रो खेलिन् । आगामी दिनमा झन् धेरै कडा मिहिनेत गर्नेछु । एरिकाले भनिन् ‘‘मैले फाइनल खेलाई हार भन्दा पनि एउटा पाठको रूपमा लिएको छु । यसले मलाई थप मोटिभेसन दिएको छ ।’’
एरिकाले थप एक्सपोजर पाउँदै गए अन्य नेपाली खेलाडीले पनि राम्रो गर्न सक्ने बताइन् । ‘‘देशका लागि पदक जित्न सक्दा मैले आफूलाई भाग्यमानी ठानेकी छु । गर्वको अनुभूति भइरहेको छ । अझै धेरै गर्नु छ, यो एउटा स्टेप मात्र हो,’’ १९ वर्षीय एरिकाले भनिन् ।
नेपाली टोलीका प्रशिक्षक एवं साग स्वर्णधारी कुशल श्रेष्ठले नेपाललाई प्रशिक्षकको रूपमा रजत दिलाउन पाउँदा ज्यादै खुसी लागेको बताए । ‘‘कराँतेले ऐतिहासिक पदक जितेको छ । हामीले जसको भिडियो हेरेर खेलेका थियौँ, फाइनलमा उसैसँग खेल्न पाएका छौँ । यसलाई अझ अपग्रेड गरेर अगाडि बढे अर्को पटक स्वर्ण पदक जित्न सकिन्छ,’’ कुशलले भने ।
शनिवारै नेपालका सन्तोष श्रेष्ठ पुरुष ६७ केजीमुनि तौल समूहको प्रिक्वाटरफाइनलमा थाइल्यान्डका फियन्डी चाईवाटसँग ३–२ अङ्कले पराजित भएका थिए ।
नेपाललाई कबड्डीमा पायो ऐतिहासिक कांस्य
महिला कबड्डीमा नेपालले महिला कबड्डीमा जितेको ऐतिहासिक कांस्य पदक शनिवार पाएको छ ।
महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिवार पदक वितरण गरिएको हो । रोमाञ्चक फाइनलमा भारतले चाइनेज ताइपेइलाई २६–२५ अङ्कले हराउँदै स्वर्ण जित्यो ।
नेपालसँगै साबिक विजेता इरानले पनि कांस्य जितेको छ । नेपालले जारी एसियाडको १५औँ दिनमा आएर शनिवार औपचारिक रूपमा कांस्य पदक ग्रहण गरेको छ । नेपाल समूह चरणमा बङ्गलादेशलाई ३७–२४ अङ्कले हराएर पदक नजिक पुगेको थियो ।
समूह ‘बी’को दोस्रो खेलमा नेपाल इरानसँग ४३–१९ अङ्कले पराजित भएको थियो । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको नेपाल सेमिफाइनलमा भने भारतसँग ६१–१७ अङ्कले चुकेको थियो ।
एसियाडमा कांस्य पदक दिलाउने नेपाली टोलीको खेलाडीहरूमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त छन् ।
एसियाडमा नेपाललाई पदक दिलाउने कबड्डी पाँचौँ खेल हो । यसअघि कराते, तेक्वान्दो, बक्सिङ र प्याराग्लाइडिङले नेपाललाई पदक दिलाइसकेका छन् । महिला कबड्डीमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।
नेपालको सान्त्वना जित
महिला भलिबलमा नेपालले अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । शनिवार भएको खेलमा नेपालले मङ्गोलियालाई ३–२ को सेटमा हरायो ।
नेपालले मङ्गोलियामाथि १७–२५, २५–१८, २५–२१, १८–२५, १५–१२ को जित दर्ता गर्यो । जितसँगै नेपाल ११ औँ स्थानमा रह्यो ।
महिला भलिबलमा १३ टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपालको महिला भलिबल टोलीले पहिलो पटक एसियाड खेलेको हो ।
गणेश आठौँ
नेपालका गणेश गुरुङ क्यानोइङमा शनिवार आठौँ भए । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको फाइनल चरणमा प्रवेश गरेका गशेण फाइनलमा पुगेका १० खेलाडी मध्ये गणेश आठौ भएका हुन् । शनिवार नै भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष १० मा रहँदै फाइनल चरणमा पुगेका थिए ।
क्यानोइङमा चीनका क्वान सिनले स्वर्ण, जापानका तानाका युकीले रजत र चाइनेज ताइपेइका उ साओले हसुनले कांस्य जिते । क्यानोइङमा १६ खेलाडीले भाग लिएका थिए ।
कुस्ती:
हाङझाउस्थित लिनान स्पोर्ट्स एन्ड कल्चर एक्जिबिसन सेन्टरमा शनिवार भएको कुस्तीमा नेपालका राज यादव र सुरेश चुनारा पहिलो खेलमै पराजित भए । पुरुष फ्रिस्टाइल ८१ केजी तौल समूहको प्रिक्वाटरफाइनलमा राज कम्बोडियाका बाली सोउसँग १०–० ले पराजित भए ।
पुरुष ७४ केजी फ्रिस्टाइलको प्रिक्वाटरफाइनलमा सुरेश चुनारा तुर्कमिनेस्तानका परमान होम्मादोभसँग ११–० ले पछि परे । महिलातर्फ शिवाङ्गी दुवे र सुशिला चन्द पहिलो खेलमै पराजित भएका थिए ।