गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। मन्त्रिपरिषद्मा ६ जना मन्त्री थपिनुभएको छ। नवनियुक्त मन्त्रीहरूले आज प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट सपथ लिनुभयो। यो विस्तरसँगै नेपाली कांग्रेसका पोखरेलको नेतृत्वमा गत जेठ २९ गते गठन भएको गण्डकी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ।
नवनियुक्त मन्त्रीहरूमा नेपाली कांग्रेसबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र विन्दुकुमार थापा तथा माओवादी केन्द्रबाट रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक थापा रहनुभएको छ।
नवनियुक्त मन्त्रीहरूमध्ये रामजी बरालले अर्थ, मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेबारी पाउनुभएको छ। यसैगरी चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण, विन्दुकुमार थापाले कानून, सञ्चार तथा प्रदेशसभा मामिला र दीपक थापालाई वन, वातावरण र भू-संरक्षण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री पोखरेलका अतिरिक्त अन्य चारजना मन्त्री पहिले नै हुनुहुन्छ। उहाँहरूमध्ये नेपाली कांग्रेसका कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री, जनता समाजवादी पार्टीका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, स्वतन्त्र सांसद राजीव गुरूङ् युवा तथा खेलकुद मन्त्री र माओवादी केन्द्रकी मधु अधिकारी गुरुङ् स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुहुन्छ।