नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज सुरु भएको विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
राजनीतिक प्रतिवेदनको प्रस्तुतिपछि सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पनि पेस गरिनेछन् ।
एमाले विधान महाधिवेशनले पार्टीको केन्द्रीय संरचना प्रस्ताव गरेको छ । जसअनुसार अब एमाले केन्द्रीय कमिटी २२५ सदस्यीय हुने भएको छ ।
एमालेमा अब अध्यक्ष-१, उपाध्यक्ष ५, महासचिव-१, सचिव-६ र सदस्य २१२ जना गरी केन्द्रीय समिति २२५ सदस्यीय रहने भएको छ । यस्तै, प्रदेश कमिटीका अध्यक्ष पदेन केन्द्रीय समिति सदस्य रहने भएका छन् ।
यसअघि एमालेमा २वटा उपमहासचिव पद थियो । जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको छ । एमाले विधानमा वरिष्ठ नेताको पद पनि हटाइएको छ । यसअघि वरिष्ठ नेता अध्यक्षपछिको वरियतामा रहन्थे ।
आजै अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन सुरु भएको थयो । कार्यक्रमको सञ्चालन नेता प्रदीप ज्ञवालीले गरिरहेका छन् । विधान महाधिवेशन पर्सी आइतबारसम्म गर्ने कार्यक्रम छ ।
यसैबीच एमाले नेता प्रभु साहले पार्टीको प्रथम विधान महाधिवेशनलाई बहिस्कार गरेका छन् । माओवादी परित्याग गरेर एमालेमा रहेका साहले आफूहरूको माग सम्बोधन नगरेको भन्दै बहिस्कार गरेको जानकारी दिए । ‘हामीहरूको एजेण्डाका विषयमा हिजो पनि वार्ता भयो । तर, सहमति भएन’, उनले भने, ‘महाधिवेशनमा गएको छुइन ।’
पूर्वमाओवादीका अन्य नेतारूले पनि बहिस्कार गर्ने तयारी रहेको भए पनि गलत सन्देश जाने भनेर उनीमात्र नगएको साहले बताए । ‘माओवादीबाट आएका साथीहरू नजाने तयारीमा थियौँ’, साहले भने, ‘तर, गलत सन्देश जाने भएपछि अरु साथीहरू जानुभयो ।’