जापानको टोकियोमा ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। औपचारिक सुरुआत आज गरिए पनि महिला फुटबललगायतका केही खेल अस्ति बुधवार नै सुरु भैसकेका छन्। खेलहरू आगामी अगष्टको आठ तारिख अर्थात् यही साउन २४ गतेसम्म सञ्चालन हुनेछन्। यसपाली खेलहरू दर्शकबिना नै सञ्चालन गरिने छन्। कोरोना सङ्क्रमणको जोखिम रहिरहेकाले टोकियो नगरमा निषेधाज्ञा जारी छ। टोकियो रङ्गशालामा आयोजित औपचारिक उद्घाटन समारोहमा सहभागी देशका खेलाडी तथा अफिसियलहरूले मास्क लगाएरै मार्चपास्ट गरेका थिए। मार्चपास्टमा नेपालको झण्डा पौडी खेलाडीद्वय गौरिका सिंह र अलेक्स शाहले बोकेका थिए।
गत वर्ष सन् २०२०मा गर्ने तय भएको ओलम्पिक खेल कोभिड-१९को सङ्क्रमणले भयावाह स्थिति हुँदा १ वर्ष पछि सारिएको हो। सन् २०२१ मा आयोजना गरिएको भएपनि यसको औपचारिक नाम चाहिँ “टोकियो ओलम्पिक २०२०” नै भनिएको छ।
३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । नेपाल एथ्लेटिक्स, सुटिङ, जुडो र पौडी खेलमा सहभागी हुँदैछ । एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा दुईजना गौरिका सिंह र एलेक्स शाहले भाग लिंदैछन्। । सरस्वती चौधरीले एक सय मिटर दौडमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दैछिन् । उनी साउन १५ गते मैदानमा उत्रनेछिन् । कल्पना परियारले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल भोलि शनिवार हुँदैछ । उनले छनोट चरण पार गरे अन्तिम चरणको खेल पनि भोलि नै साँझ हुनेछ । जुडोकी १९ वर्षीया सोनियाले ४८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनको खेल पनि भोलि नै हुनेछ । पहिलो चरण पार गरे अन्य चरणको खेल पनि भोलि नै हुनेछ । पौडीमा पुरुषतर्फ एलेक्स शाहले र महिलातर्फ गौरिका सिंहले प्रतिष्पर्धा गर्दैछन् । दुवै खेलाडी युनिभर्सालिटी कोटा (विश्वव्यापी सहभागिता) बाट ओलम्पिक पुगेका हुन् । एलेक्सले पुरुष एकसय मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले साउन १२ गते पुरुष एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले हिट चरण पार गर्न सकेमा साउन १३ गते अर्को खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरण साउन १४ गते हुनेछ । त्यस्तै गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइलमा चुनौती प्रस्तुत गर्नेछिन् । उनले अघिल्लो संस्करणको ओलम्पिक खेलमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी थिइन् । गौरीकाले यही साउन १३ गते महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् । ओलम्पिक खेलका लागि पौडी, सुटिङ र जुडोका खेलाडी जापानको टोकियो पुगिसकेका छन् भने एथ्लेटिक्स टोली भोलि शनिवार जापान प्रस्थान गर्नेछ ।
नेपालले सन् १९६४ मा जापानको टोकियोमै भएको १८औँ संस्करणको खेलबाट ओलम्पिक यात्रा शुरु गरेको हो । तर हालसम्म कुनै पनि खेलाडीले आधिकारिक पदक जित्न सकेका छैनन् । यद्यपि नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट र सङ्गीना वैद्यले भने ओलम्पिक खेलको छनोट प्रतियोगिता पार गरेका छन् । ओलम्पिकमा नेपालबाट हालसम्म आठ खेलमा प्रतिनिधित्व भएको छ । एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी । त्यसमध्ये ओलम्पिक यात्रा शुरु गरेयता एथ्लेटिक्स खेलको सहभागिता भने हालसम्म टुटेको छैन ।