त्रिभुवन आर्मी पुरुष भलिबल क्लबले एनभीए राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा विभागीय टिम आर्मीले हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतिस्पर्धात्मक पहिलो सेट आर्मीले २६-२४ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा हेल्प नेपालले पुनरामगन गर्दै २५-१७ को सहज जित निकाल्यो ।
पुनः तेस्रो सेट आर्मीले २५-१८ ले सहज हात पार्यो । मान बहादुर श्रेष्ठ, राजेन्द्र बिष्ट, दिल सुनार, हरिहजुर थापा, दुर्गा खड्काको उत्कृष्ट प्रदर्शनसँगै आर्मीले सेटमा २-१ को अग्रता बनायो । रोमान्चक चौथो सेट आर्मीले ३३-३१ ले जित्दै उपाधि आफ्नो नाममा लेखायो ।
हेल्प नेपालमा गण्डकी प्रदेशबाट खेल्दै आएका र भारतीय राष्ट्रिय टोलीबाट खेलेका विनित कुमारसहित ३ खेलाडीको साथ रहेको थियो ।
यससँगै पुरुष तर्फको खेलमा आर्मी विजेता रह्यो, पराजित हेल्प नेपाल उपविजेता रह्यो । नेपाल पुलिस क्लब तेस्रो स्थानमा रह्यो । पुलिसले तेस्रो स्थानको खेलमा एपीएफलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
आजै भएको महिलातर्फको खेलमा विभागीय एपीएफलाई हराउँदै न्यु डायमण्ड एकेडेमीले ३-१ को सेट जित्दै उपाधि हात पार्यो ।
जितसँगै प्रतियोगिताका विजेता आर्मी र न्यु डायमण्डले समान ४ लाख रूपैयाँ हात पारे । उपविजेतामा सीमित महिलातर्फ एपीएफ र पुरुषतर्फ हेल्प नेपालले २ लाख रूपैयाँ पाए ।
यस्तै महिलातर्फ तेस्रो भएको आर्मी र पुरुषतर्फको पुलिस क्लबले समान १ लाख रुपैयाँ प्राप्त गरे ।