खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई आइतबारदेखि काठमाडौँको माइतीघरमा सत्याग्रहमा छन् । बाँसका सामग्रीको प्रवर्द्धन गर्ने सात बुँदे माग राखेरउनले सत्याग्रह सुरु गरेका हुन् । स्थानीयस्तरमा उत्पादन हुने बाँसका सामग्री तथा स्थानीय कोदोको रक्सी प्रवर्द्धन, बाँदर नियन्त्रण, भ्रष्टाचार नियन्त्रणलगायत सात बुँदामा उनका माग छन् ।
बाँसनिर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा नगर प्रमुख भट्टराईलाई प्रहरीले रोकेको थियो । पशुपतिमा कपाल मुण्डन गरेपछि उनी खाली खुट्टा हिँडेर सिंहदरबारको दक्षिण ढोका हुँदै उनी माइतीघर मण्डलामा पुगेर बाँसकै उत्पादनमा बसेर सत्याग्रह शुरु गरेका हुन् । बाँस र बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत लिएर उनी साउन ४ गते काठमाडौँ आएका हुन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थ व्यक्तिहरुलाई बाँसका कुर्सी र टेबल उपहार दिएका थिए । नगर कार्यपालिकाको साउन–१० गते बसेको बैठकले नगर उपप्रमुख एवम् कार्यवाहक नगर प्रमुख राईको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको छ । नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित गत फागुनमा तीन दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरेको थियो । दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’ गरेको थियो । सो घोषणा–पत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतको रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख छ ।
नेताहरूले देशको काठको प्रयोगभन्दा विदेशी फलाम र आल्मुनियम आयातलाई बढावा दिएकोले काठ खेर गैरहको छ भने ठूलो रकम विदेशिइरहेको छ । यस्तो बेला बाँसको प्रयोग बढाउनु पर्ने राष्ट्रभक्तिपूर्ण माग उनीहरूले सुन्नेमा शंकै रहेपनि यो आन्दोलन नछोडिने उक्त नगरपालिकाका सदस्यहरूले बताए ।