पर्यटकले पोखरामा बसाइ नगरी सिधै मुस्ताङ जस्ता उच्च हिमाली गन्तव्यमा पुग्ने प्रवृत्ति बढ्दै गएकोप्रति होटेल सङ्घ नेपाल, गण्डकीले गम्भीर चिन्ता व्यक्त गरेको छ । यसले एकातिर पर्यटकको स्वास्थ्यमा गम्भीर असर पार्ने जोखिम बढाएको छ भने अर्कातिर पोखराको पर्यटन व्यवसायमा प्रत्यक्ष असर पर्ने सङ्घको ठम्याइ छ ।
सङ्घका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तिमा नेपालको सीमावर्ती तराई क्षेत्रबाट एकैदिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यहरूमा पर्यटक पुर्याउँदा लेक लाग्ने जोखिम अत्यधिक बढेको उल्लेख गरेका छन् । उनले पर्यटकलाई वातानुकूल वातावरणमा आराम गर्दै यात्रा गर्ने व्यवस्था मिलाउन ट्राभल एजेन्सी, टूर अपरेटर तथा सम्बन्धित निकायहरूलाई अपिल गरेका छन् ।
“आफ्नै सवारी लिएर सानो समूहमा यात्रा गर्ने पर्यटकलाई समेत यस्तो जोखिमपूर्ण यात्रा नगराउन सुझाव दिन चाहन्छौँ । सरकारी तहबाट पनि यस्तो प्रवृत्तिलाई न्यूनीकरण गर्न आवश्यक पहल अगाडि बढाउन अनुरोध गर्दछौँ । यसले पर्यटकको सुरक्षासँगै पोखरामा बसाइ अवधि लम्ब्याउन मद्दत पुग्नेछ ।”
पोखरा हुँदै दैनिक हजारौँ पर्यटक विभिन्न गन्तव्यमा आवतजावत गर्ने तथ्य उल्लेख गर्दै सङ्घले पर्यटनसँग जोडिएको मानव स्वास्थ्य र सुरक्षाको पाटोलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएको छ ।
पछिल्ला दिनमा तराईबाट पोखरा हुँदै मुक्तिनाथ पुगेर सोही दिन फर्किने पर्यटकहरूको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै सङ्घले यस्तो प्रवृत्तिलाई प्रोत्साहन नगरिनुपर्ने स्पष्ट पारेको छ । समुद्र सतहबाट करिब १०० मिटर उचाइमा रहेको तराई क्षेत्रबाट ८०० मिटर उचाइको पोखरा हुँदै सोही दिन ३७१० मिटर उचाइको मुक्तिनाथ पुग्नु स्वास्थ्यका दृष्टिले अत्यन्त नकारात्मक हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सङ्घले यस्तो यात्रा धपेडीपूर्ण र खतरनाक मात्र नभई बर्खायाममा राति कुँदाई गर्दा थप जोखिमयुक्त हुने चेतावनीसमेत दिएको छ । यसले एकातिर पर्यटकको ज्यान जोखिममा पार्ने र अर्कातिर अन्तरराष्ट्रिय रूपमा नेपालप्रति नकारात्मक सन्देश जाने खतरा रहेको सङ्घको भनाइ छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा लेक लागेर १८ पर्यटकको मृत्यु भएको थियो । मृतकमा ६ नेपालीसहित ८ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीटजरल्याण्डका एक–एक नागरिक रहेका छन् ।
त्यस्तै, मुस्ताङ जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २०८१ सालमा मात्र लेक लागेर ८ भारतीय, २ नेपाली र १ अमेरिकी पर्यटकको मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेमा भारतीय पर्यटकको सङ्ख्या बढी रहेको देखिएको छ ।
सङ्घले केही दिनअघि काठमाडौँबाट हेलिकप्टरमार्फत सिधै सगरमाथा क्षेत्र पुगेका एक अष्ट्रेलियाली पर्यटकलाई लेक लागेपछि काठमाडौँ फर्काइएको घटनालाई पनि उदाहरणस्वरूप उल्लेख गर्दै उच्च हिमाली यात्रा पूर्व पर्याप्त तयारी र समय व्यवस्थापनको आवश्यकता औंल्याएको छ ।