राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरी शपथ समेत गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताले प्रकट गरेका माग र आकांक्षाअनुसार, राजनीतिक दल र सरोकारवालाको परामर्शमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधानअनुसार राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिम सरकारको प्रधानमन्त्रीमा तिमीलाई नियुक्त गरिएको हो । संविधानमा यसरी नियुक्त गर्ने व्यवस्था छैन तर जेन जी आन्दोलनका कारण यसरी नियुक्त गरिएको हो ।
शपथ समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित थिए । जेनजीले उठाएका मागहरूमा सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । नवनियुक्त प्रधानमन्त्रीका रूपमा उनले सानो मन्त्रिमण्डल गठन गर्नेछन् र उनले गर्ने सिफारिशका आधारमा सरकारका प्राथमिकताका थप कामहरू अघि बढाइनेछ ।
जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व र निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको पुनः सञ्चालनको माग राख्दै आह्वा गरेको आन्दोलन र त्यसपछिका घटनामा ठूलो जनधनको क्षति भएको थियो । उक्त घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर भागेका थिए । त्यसपछि आन्दोलनको मागअनुसार उनको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो ।
मुलुकमा अचानक बदलिएको राजनीतिक परिस्थिति र अन्यौलको वातावरणमा नेपाली सेनाको पहलमा क्रमशः कानुनी राज्य र अमनचयन कायम गर्दै वार्ता र संवादका माध्यमबाट नयाँ सरकार गठनमा सफलता मिलेको हो । सेनाले इतिहासदेखि नै प्राप्त जिम्मेवारीलाई संविधानसम्मत ढङ्गबाट प्रजातान्त्रिक मूल्य–मान्यताका आधारमा बहन गर्दै आएको छ । निकै जटिल अवस्थामा संयम भएर छोटो समयमा परिस्थितिलाई सहजरूपमा अवतरण गराउन सफल भएको छ ।
नेपालको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा उनी कार्यपालिका प्रमुख अर्थात् पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । यसअघि उनी लामो समय वकालत गर्दै सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश बनेका थिइन् । न्यायालयभित्र प्रष्ट विचार, खरो स्वभाव र इमानदार छवि बनाएका कार्कीको नेतृत्वमा सरकारले प्राप्त समयाधिभित्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराई नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्नेछ ।