राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाको अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ ।
उक्त प्रदर्शनको आयोगको अनुगमन टोलीले गत भदौ २३ गते बिहान करिब १०ः३५ मा प्रदर्शनस्थल माइतीघरमण्डलामा पुगी अनुगमन सुरु गरी हालसम्म निरन्तर रूपमा अनुगमन गरिरहेको र हालसम्मको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ । आयोगले अनुगमनका क्रममा टोलीले प्रदर्शनकारीतर्फ र सुरक्षाकर्मीतर्फका घाइते तथा मृतकको अवस्थाका सम्बन्धमा जानकारी लिएको र विभिन्न अस्पतालमा घाइतेहरूको उपचार नेपाल सरकारबाट निःशुल्क भएको भन्ने जानकारी पाएको जनाएको छ ।
उपचारपश्चात केही घाइतेहरू घर फर्किएका र केही घाइते हालसम्म पनि उपचारमा रहेको भन्ने जानकारी पाइयो । आयोगले जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्राप्त गरेको विवरणअनुसार सर्वसाधारणतर्फका नौ सय ३८ जना घाइते भएका र ४५ जनाको मृत्यु भएको र सुरक्षाकर्मीतर्फ तीन जनाको मृत्यु भएको, एक हजार ३७९ जना घाइते भएको, एक सय ३७ जना अस्पताल भर्ना भएकामा हाल नौ जना उपचाररत रहेको पाइएको छ ।
मृतक सुरक्षाकर्मीका परिवारका सदस्यलाई राहत उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रक्रिया सुरु भएको उल्लेख छ । आयोगले भौतिक क्षतिको अवस्थालाई हेर्दा सिंहदरबार परिसरका सरकारी भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौँ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, अन्य सरकारी भवन, राजनीतिक दलका नेताहरूको निवास, व्यावसायिक भवन तथा निजी आवास, सञ्चारगृह र प्रहरी कार्यलयमा अत्यधिक क्षति भएको, कागजपत्र तथा अभिलेख, जिन्सी सामान र सवारीसाधन जलेको पाइएको उल्लेख छ ।
सेवा सञ्चालनको अवस्थालाई हेर्दा घटनापश्चात हाल सबै निकायहरूले सेवा सञ्चालन गरेको र कतिपय निकायले पाल टाँगेर तथा अन्य उपलब्ध स्थानमा उपस्थित भई कार्यालयको सेवा सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ । आयोगले हाल सेवा सञ्चालन गर्दा जलेर नष्ट भएका भौतिक संरचना तथा अभिलेख र फाइलहरूको अभावका साथै सेवा प्रवाह गर्ने कर्मचारीको मनोबलमा आएको कमीका कारणले नागरिकले पूर्ववत सेवा प्राप्त गर्न समस्या देखिएको जनाएको छ ।
प्रतिवेदनमा सरकारी निकायका केही कर्मचारीहरूमाथि भएको कुटपिटका कारण सेवा प्रदान गर्न मनोबल कमजोर हुनुका साथै असुरक्षित महसुस गरेको पाएको उल्लेख छ ।