संयुक्त राष्ट्रसङ्घको ८० औँ महासभामा प्रधानमन्त्रीको सट्टा नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका छन् । आफ्नो साम्बोधनको क्रममा थापाले नेपालमा सुशासनको माग गर्दै हालै जेन जी आन्दोलन भएको र आन्दोलनको माग अनुसार नेपालले काम गर्ने प्रतिबद्धता विश्व समुदाय समक्ष व्यक्त गरे । उनले सुशासन, शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताP । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी महासभाको ८०औँ अधिवेशनलाई उनले सोमबार नेपालका तर्फबाट सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा उनले मुलुकमा विकसित पछिल्ला राजनीतिक घट्नाक्रमका बारेमा जानकारी गराएको अमेरिकास्थित नेपाली स्थायी नियोगले जनाएको छ । नेपाली युवा पुस्ता (जेन जी)ले पारदर्शी, जवाफदेही, जनउत्तरदायी र सुशासनका आधारस्तम्भमा टेकेर निष्पक्ष, न्यायपूर्ण र समृद्ध राष्ट्र निर्माणको माग गरेको स्थायी प्रतिनिधि थापाले जानकारी गराए । नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको नेतृत्वमा राज्य सञ्चालन भइरहेको जानकारी दिँदै उनले सार्वभौम नेपाली जनताले नयाँ नेतृत्व छान्न पाउने अधिकारसहित आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकिएको बताए । संयुक्त राष्ट्रसङ्घलाई बहुपक्षीयताको आधार, शान्ति, न्याय, मानव स्वाभिमान, साझा समृद्धि तथा नियममा आधारित अन्तरराष्ट्रिय व्यवस्थाको आशा भएको उल्लेख गर्दै उहाँले त्यसका महत्वपूर्ण एवं आधारभूत मूल्यमान्यताहरूलाई जोगाउनुपर्नेमा जोड दिए ।
प्यालेस्टाइनको गाजा क्षेत्रमा चर्किंदो मानवतावादी सङ्कट र हमासद्वारा निर्दोष नागरिकलाई बन्धक बनाइएका घटनाप्रति चिन्ता एवं आपत्ति व्यक्त गर्दै उनले सन् २०२३ अक्टोबर ७ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीलाई तुरुन्त मुक्त गर्न आग्रह गरे । महासभालाई सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले विश्व शान्ति र सुरक्षाको प्रत्याभूति, बहुपक्षीयताको सुदृढीकरण र विश्वास पुनःस्थापना, दिगो विकास लक्ष्य कार्यान्वयनमा तीव्रता, अति कम विकसित देश तथा कमजोर मुलुकका लागि विकास तथा जलवायु वित्त, जलवायु न्याय, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र समावेशी ‘डिजिटल’ रुपान्तरण प्रवद्र्धनलगायतका विषयमा विश्वव्यापी कार्यका लागि आह्वान गरे । केपी ओली जाने तयारी गरिरहेका बेला जेन जी आन्दोलनका कारण ओलीले सत्ता छोडेर भागेपछि अन्तरिम सरकार गठन भै थापालाई सम्बोधनका लागि खटाएको हो ।