प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक कात्तिक ९ गते बस्ने जानकारी दिएका हुन् ।
सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो ।
बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।
एमाले सांसदहरूको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।
चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरेका थिए ।
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नखोज्नेहरूमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर आइतबार चार जनाको मृत्यु भएको थियो ।
आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन् ।