देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँवासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ । बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको वसोवास छ । ती परिवारका ४०० भन्दा बढी सदस्यले एउटा मात्र धारोबाट गुजारा चलाउँदै आएको वर्षौं बितिसकेको छ ।
६८ वर्षिया कालिका दर्जी भन्छिन्, “बिहान ४ बजेदेखि नै यहाँ भीड लाग्छ । ११ वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ, त्यतिबेलादेखि नै खानेपानीको समस्या जस्ताको यस्तै छ ।”
उनको जस्तै समस्या यस गाउँका सबै गृहिणीले भोग्दै आएका छन् । एक गाग्री पानी भर्नकै लागि एक घण्टाभन्दा बढी पर्खनु पर्छ । स्थानीय पार्वती दर्जीको गुनासो यस्तो छ, “घरको अरु काम गर्नै भ्याइँदैन । बिहान धारामै वित्छ । काममा जाने लोग्नेमान्छे र विद्यालय जाने केटाकेटीहरुलाई खाना पकाएर खुवाउन ढिला हुन्छ, अनि गाली आफूले खानुपर्छ । अरु गाउँका घरघरमा धारा छन्, हाम्रो गाउँमा गाउँभरीकै मान्छेका लागि जम्मा एउटा धारो छ ।”
यस गाउँमा पानीकै कारण झगडा समेत हुने गरेको पुलाचौरका शिव बानियाँले बताए । “एउटा मात्रै धारो, १०३ घर परिवार, पानी भर्नका लागि तँछाडमछाड त हुने नै भयो, अनि सुरु हुन्छ झगडा, मेरो पालो भन्दै एक जना अघि बढेपछि अर्को पछि हट्ने कुरै भएन, सबैलाई छिटो पानी भरेर घरको काम सक्ने हतारो हुन्छ । यहाँ पानीकै कारण दैनिक झगडा समेत हुने गरेको छ ” उनले भने ।
राजनीतिक दलका नेता र स्थानीय तहका जनप्रतिनिधिहरूले समेत चुनावका वेला मात्रै मीठा कुरा गर्ने गरेको र चुनावपछि वेवास्ता गर्ने गरेको उनीहरुको आरोप रहेको छ । “हाम्रो भोटले नै जितेर गएका जनप्रतिनिधिले चुनावको बेला बाहेक अरू समयमा हामीलाई फर्केर पनि हेर्दैनन्, खानेपानी र मोटरबाटोको लागि कति पटक यहाँका जनप्रतिनिधिलाई भन्यौं तर सुनेको नसुन्यै गरे” स्थानीय लालबहादुर परियारले भने ।
खानपानी समस्या समाधान गर्न उच्च प्राथमिकता दिएको बेनी नगरपालिकाको भनाइ छ । तर खानेपानीको स्रोत नै फेला नपरेकाले पुरण्यमा पानी पुर्याउन नसकिएको वडा नंका ५ का वडाध्यक्ष लक्ष्मण बानियाँ बताउँछन् । “पुरण्यमा खानेपानीको समस्या छ, तर खानेपानीको स्रोतको अभावमा त्यो समस्यालाई सम्बोधन गर्न सकिएको छैन । उहाँहरुलाई वेवास्ता गरेको भन्ने कुरै आउँदैन, श्रोतको खोजी भैरहेको छ, केही समय पछि उहाँको समस्या समाधानका लागि प्रयास शुरु हुने छ । ”