आइतबार रातिदेखिको वर्षाका कारण कैलाली कन्चनपुर क्षेत्रका किसानले ठूलो क्षति बेहोर्नु परेको छ । काटिसकेको धानबाली घर भित्र्याउन नपाउँदै डुबेको छ भने भर्खर लगाएको हिउँदे तरकारी तथा तेलहनबाली समेत नष्ट भएको छ ।
कैलाली कन्चरपुर क्षेत्रमा यो वेला हिउँदे तरकारी आलु, काउली, बन्दा तथा हरियो साग लगाउने गरिन्छ । धेरै किसानले आलु, काउली तथा हरियो साग भखर्रै रोपेको हुँदा बर्षाले सबै नष्ट भएको छ । ‘चार कठ्ठा जमिनमा आलु लगाएको चार दिन मात्रै भयो,’ धनगढी उप–महानगरपालिका–३ का मुसेव खानले भने, ‘यस्तै २–३ कठ्ठा जमिनमा अरु तरकारी लगाएको थिएँ, वर्षाले सबै नष्ट भयो ।’ कैलालीको गौरीगंगा नगरपालिका–२ का किसान भीम साउदले पनि हिउँदका लागि लगाएको तरकारी वाली वर्षाले नष्ट भएको बताए । ‘खेतमा लाही छरेको दुई दिन मात्रै भयो,’ उनले भने, ‘आलु पनि लगाएको थिएँ, सबै बिग्रियो ।’
आइतबारदेखिको वर्षाले कञ्चनपुरमा धानबाली डुबेको छ । खेतमा काटेर सुकाएको धान भित्र्याउन नपाउँदै नष्ट भएपछि किसानहरू चिन्तित बनेका छन् । कैलालीमा मात्रै सयौँ बिघा जमिनको धानखेती डुबेको छ । धानसँगै केरालगायतका अन्य बालीसमेत नष्ट भएको किसानहरूले बताएका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका राजकुमार चौधरीका अनुसार भखर्रै काटेको अढाई बिघा जमिनको धान भिजेर नष्ट भएको छ । ‘यति ठूलो बर्षा हुन्छ भनेर कसले सोच्नु ?’ उनले भने, ।
तटिय क्षेत्रका नगरिकलाई सचेत रहन आग्रह
आइतबार रातिदेखि लगातार वर्षा भएपछि तटिय क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ । कैलालीको तराई क्षेत्रसँगै पहाडी क्षेत्रमा समेत निरन्तर बर्षा भइरहेका कारण खोला नालामा पानीको वहाब बढ्न सक्ने प्रहरीको चेतावनी छ ।
प्रदेशको मध्य तथा चुरे तराई क्षेत्रमा ठूलो वर्षा मापन भएको र आगामी तीन दिनसम्म थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकोले सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कैलालीले सूचना जारी गर्दै आग्रह गरेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौंका अनुसार सुदूरपश्चिममा आगामी तीन दिनसम्म निरन्तर वर्षा हुने अनुमान छ । महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिमा मानन्धरका अनुसार सुदूरपश्चिममा अहिले बंगालको खाडीबाट उत्पन्न न्यून चापीय मनसुनी वायु र पश्चिमी वायु सक्रिय छ । जसका कारण प्रदेशभर वर्षा भइरहेको छ । यो प्रणाली आगामी तीन दिनसम्म सक्रिय रहने उनको भनाइ छ । ‘बिहीबारदेखि मौसममा सुधार आउने अनुमान छ,’ उनले भनिन्, ‘बुधबारसम्म सुदूरपश्चिमका सबै जिल्लामा वर्षासँगै हिमाली क्षेत्रमा हिमपात हुन सक्ने छ ।’