लगातारको वर्षाले डोटीको सदरमुकाम सिलगढीसहित अछाम र बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेको छ । तीन दिनदेखि लगातारजस्तो पानी परिरहेकाले नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भएको छ । नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
सेती नदीको बाढीले पुल छोएपछि बिहानदेखि उक्त पुलमा सवारी साधन आवतजावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायव निरीक्षक रुपसिंह थापाले बताए । पुलबाट आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम र बाजुरा जानका लागि त्यहाँ पुगेका दर्जनौँ सवारी साधन पिपल्ला बजारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल कुल्पातेले जनाएको छ ।
बाढीले वरपरका बस्तीसमेत डुबानमा परेको छ । दिपायल पुलबजारकी स्थानीय मेरिसा परियार भन्छिन्, “सेतीमा निकै ठूलो बाढी आएको छ, बाढी पुल बजारका पसल तथा घरमा समेत पसेको छ, हामी रातभरि सुत्न पाएका छैनौँ ।”
डोटीमा सोमबार दिउँसोदेखि विद्युत् सेवा पनि अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण दिपायलका भरतबहादुर द्वारियाका अनुसार त्यहाँका पहाडी जिल्लामा वितरण गरिएको ३३ केभिए प्रसारण लाइनमा रुख परेका कारण विद्युत् सेवा अवरुद्ध भएको हो । अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी परिचालन गरिएको भए पनि वर्षा नरोकिएकाले मर्मत गर्न सकिएको छैन ।
डोटीको गोपघाट र दिपायलस्थित समुहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार सेती नदीमा पानीको बहाव ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेकभन्दा बाढीको बहाव हुँदा नदीमा बाढीको खतरा हुने गर्दछ ।
नदीले धान रोपेका खेतमा समेत कटान गरी बगाउन थालेको शिखर नगरपालिका–२ कालागाढका स्थानीय तेजबहादुर बोगटीले जानकारी दिए । सेती नदीमा बाढी आएपछि नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीय त्रसित बनेका छन् ।
नदीमा पानीको बाहब बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान तथा विशेष गरी रातिको समयमा सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । लगातारको बर्सातका कारण बाढीपहिरो आउने खतरा बढेकाले विपद् व्यवस्थापनमा जुट्न जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए ।
यसैगरी इलाका प्रहरी कार्यालय दिपायल, प्रहरीचौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विपद् तथा नदीबाट हुने खतराबाट जोगिन चौबीसै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
वर्षाकै कारण डोटीका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको ग्रामीण भेगका अधिकांश सडक अहिले सवारी साधन गुड्न नसक्ने अवस्थामा पुगेका छन् । जोरायलमा रहेको कर्नासो नदी तथा विपीनगरमा रहेको ठूलीगाडमा समेत पानीको सतह निकै बढेकाले सतर्क रहन आग्रह गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताएका छन् ।