नेकपा (माओवादी केन्द्र)ले पार्टीका तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान बसेको बैठकले प्रदेश, पालिका, वडा र टोल सम्मेलनको कार्यतालिका परिमार्जन गरेको हो ।
बैठकले टोल सम्मेलन यही कात्तिक २७ गतेसम्म, वडा सम्मेलन आगामी मङ्सिर ४ गतेसम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म सम्पन्न गर्ने गरी म्याद थप गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि टोल सम्मेलन ६ कात्तिक, वडा सम्मेलन १३ कात्तिक, पालिका सम्मेलन ४ मङ्सिरमा सम्पन्न गर्ने तालिका बनाइएको थियो । तोकिएको समयभित्र सम्मेलन सम्पन्न गर्न नभ्याइने भएपछि माओवादीले कार्यतालिका हेरफेर गरेको हो ।
यस्तै बैठकले पार्टी सदस्यता नवीकरणको म्याद यही कात्तिक २७ सम्म थप गरेको छ । यसअघि पार्टी सदस्यता नवीकरणको म्याद असोज मसान्तसम्म तोकिएको थियो । राष्ट्रिय सम्मेलनको कार्यतालिकामा भने कुनै हेरफेर नभएको प्रवक्ता महराले बताए । आगामी पुसको दोस्रो साता माओवादीको राष्ट्रिय सम्मेलन तय भएको छ ।
बैठकले केही कमिटी र आयोगलाई पूर्णता दिएको छ । पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग र टङ्क राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग गठन गरेको छ । माओवादीले यसअघि नै विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरिसकेको छ ।
बैठकले १४९ सदस्यीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्टमञ्च गठन गरेको छ । यसैगरी भूगोलभन्दा बाहिर पार्टी काममा संलग्न सदस्यलाई समेटेर १७५ सदस्यीय विशेष कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ । स्थायी कमिटीको अर्को बैठक यही कात्तिक ४ गते बिहान ८ बजे बस्ने भएको छ ।