नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिनै लाग्दा ‘एएफसी प्रो लाईसेन्स’ प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार भएका हुन् ।
यसअघि नेपाल साफ च्याम्पियनशिपको २८ वर्षे यात्रामा पहिलोपटक फाइनल पुग्दा प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीको प्रशिक्षक पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
यस्तै उनले फाइनल खेल अन्तिम खेल हुने बताउँदै नेपाल समेत नफर्कने बताएका थिए । सोहीअनुसार नेपाल उपविजेता भएर स्वदेश फर्कँदा अब्दुल्लाह नेपाल नआइ सिधै कतार गएका थिए ।
यसैबीच एन्फाका केन्द्रीय सदस्य तथा राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक (म्यानेजर) मधुसूदन उपाध्यायले प्रशिक्षक अब्दुल्लाह नेपाल आउन तयार रहेको बताएका छन् । ‘प्रशिक्षक पुनः नेपाल फर्कनु हुन्छ । म सँग भएको कुराकानीमा प्रशिक्षक (अब्दुल्लाह) ले नेपाल आउने सहमति जनाउनु भएको छ । दोहाबाट छुटेपछि त्यस्तो केही नभए उहाँँ एक दुई सातामा नेपाल आउनुहुन्छ ।’ पछिल्लो समय नेपाली टोलीको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका उपाध्यायले भने ।
पछिल्ला दिनमा प्रशिक्षकले नेपाल नबस्ने निर्णय लिए पनि आफ्ना बाँकी काम सक्न भए पनि उनी नेपाल फर्कने उपाध्यायले बताए । २०७७ साल चैतमा एन्फाले पहिलोपटक अब्दुल्लाहलाई नेपालको प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उनको सम्झौता ५ कात्तिकमा सकिँदैछ ।
यसअघि प्रो लाईसेन्स प्राप्त स्विडिस मुख्य प्रशिक्षक योहान कालिनले पारिवारिक समस्या देखाउँदै नेपाल नफर्कने बताएपछि नेपाली टोलीको कार्यकारी प्रशिक्षक जिम्मा बालगोपाल महर्जनले पाएका थिए । तर उनीसँग फिफा विश्वकप छनोटका बाँकी खेल खेलाउन ‘एएफसी प्रो लाईसेन्स’ नभएपछि एन्फाले कतार फुटबल संघको सहयोगमा कुवेती नागरिक अब्दुल्लाहलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
पछिल्लो समय मैदानमा सफलता पाउँदै गएका प्रशिक्षक अब्दुल्लाहले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसँगको मनमुटाव र त्यसपछिका क्रियाकलापपछि लगातार नेपाल राष्ट्रिय टोलीसँग नरहने बताउँदै आएका थिए । उनले हालसम्म तीनपटक सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको प्रशिक्षकबाट राजीनामा दिने बताइसकेका छन् ।
यसैगरी एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुधबार (आज) नै सामाजिक सन्जालमा प्रशिक्षक अब्दुल्लाहसँग राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउन छलफल भएको बताएका छन् । कतारमा भएको भेटपछि सामाजिक सन्जालमा फोटो राख्दै शेर्पाले भनेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आज हाम्रो छलफल भयो ।’