नेपाली कांग्रेसको क्रयाशील सदस्य संख्या साढे ८ लाख नाघेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको हो । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाएको प्रतिवेदनमा ४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएको उल्लेख छ। बाँकी ४ लाख ९ हजार ३३ जना पुरानै हुन् र उनीहरूको क्रियाशील सदस्यता नवीकरण गरिएको हो। क्रियाशील सदस्यमध्ये पुरुष ६ लाख ५३ हजार ४३८, महिला एक लाख ९९ हजार ९७ र अन्य १७६ जना रहेका छन् ।
कांग्रेसको क्रियाशील सदस्यमध्ये प्रदेश १ मा एक लाख ७४ हजार ७८२, प्रदेश २ मा एक लाख १२ हजार ९४६, वाग्मती प्रदेशमा एक लाख ८६ हजार १४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६३३ रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८८५, कर्णाली प्रदेशमा ५४ हजार ५६६ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७५६ रहेका छन् । साथै १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७, २६ देखि ४० वर्ष उमेर समूहका २ लाख ४९ हजार ७७४, ४१ देखि ६० वर्ष उमेर समूहका ३ लाख २८ हजार २३४, ६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० र ७५ वर्षभन्दा बढी उमेर समूहका ११ हजार ७७२ जना रहेका छन् ।
नवीकरणतर्फ ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लगाएको समितिले नयाँ क्रियाशील सदस्यता नामावलीलाई आगामी १४औँ महाधिवेशनका लागि स्थगन गरी उक्त महाधिवेशनपछि प्रक्रिया पुर्याएर कायम गर्ने प्रतिवेदनमा उल्लेख छ । कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा प्रदीप पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।
क्रियाशील सदस्यता नामावली टुङ्गिएसँगै अब पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया सुरु हुने भएको छ । क्रियाशील सदस्यता छानबिनको काम नसकिंदा शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठकले साउन १२ गते अर्थात् आजका लागि तय भएको वडा तहको पार्टी अधिवेशन स्थगित गरेको थियो । अधिवेशनको नयाँ कार्यतालिका तय भैसकेको छैन। कांग्रेसले केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने हालसम्मको कार्यक्रम छ।