एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको शपथ लिएका छन् । बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीको शपथ गराएका हुन् । यसअघि प्रदेश प्रमुख शर्माले आजै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार प्रदेश प्रमुख शर्माले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमालेका तर्फबाट धादिङ क्षेत्र १ (१) बाट विजयी बनेका पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् ।
एमालेबाट मुख्यमन्त्री बनेकी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बुधबार हिजो मार्गप्रशस्त गरेकी थिइन् । शाक्यको राजीनामापछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको आह्वानबमोजिम गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित पाण्डेले दावी प्रस्तुत गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले सरकारको नेतृत्वका लागि दाबी गर्न २४ घन्टाको समयसीमा दिएको थियो ।
प्रदेशसभामा १०९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२ र जनता समाजवादी पार्टी (जसपा) का एक जना सदस्यले हस्ताक्षर गरेका थिए । केन्द्रीय गठबन्धनको सहमतिअनुसार बागमतीमा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।
प्रदेश सरकार गठनका लागि कम्तिमा ५५ सांसदको समर्थन आवश्यक पर्नेमा गठबन्धनका तर्फबाट ५९ जना सांसदले साथ दिएपछि पाण्डेले मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् । बागमतीमा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको चर्चा छ तर औपचारिक रूपमा केही सार्वजनिक गरिएको छैन ।