पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना गर्दैआएको नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शतप्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । मञ्चले पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै खुल्ला ४२.१९५ किमी म्याराथनतर्फ प्रथम पुरस्कारको राशि चार लाख रूपैयाँ पुर्याएको जानकारी दिएको हो । यो पुरस्कार राशि गत वर्षको भन्दा दोब्बर हो ।
आगामी फागुन १९ गते पोखरामा आयोजना हुने १६औँ संस्करणको पोखरा म्याराथनतर्फ हुने सबै दौडहरू २१ किमी महिला हाफ म्याराथनबाहेक महिला पुरुष १० किमी र छात्रछात्रा पाँच किमी, ह्विल चेयर तथा दृष्टिविहीन दौडतर्फ गत वर्षको पुरस्कार राशिमा पनि पाँच/पाँच हजार रुपैयाँ वृद्धि गरिएको सो संघले जनाएको छ ।
४२.१९५ किमीतर्फ दोस्रो हुनेले दुई लाख, तेस्रो हुनेले एक लाख र सान्त्वनातर्फ ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । दौडका सबै विधातर्फ गरी कूल २८ जना पुरस्कृत हुनेछन् । पुरस्कार राशि वृद्धि गरिएको बताउँदै उनले भने, “गत वर्ष पुरस्कार राशि कुल आठ लाख रहेकामा यो वर्ष सबै विधागत रूपमा बढाउँदा १२ लाख ३० हजार पुर्याएका छौँ ।”
पुरस्कार राशिमा वृद्धिले दक्षिण एसियाली देशका धावकसँगै अन्य अन्तर्राष्ट्रिय धावकहरुलाई पनि आकर्षण गर्न सहयोग पुग्ने अपेक्षा मञ्चले गरेको छ । अध्यक्ष पराजुलीले भने, “म्याराथनको माध्यमबाट पोखरालाई विश्वमा परिचित गराउन सफल हुने विश्वास लिएका छौँ ।”
आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गराउने योजनासँगै प्रथम पुरस्कार राशि १० लाख रुपैयाँ पुर्याउने लक्ष्यकासाथ अघि बढेको उनले बताए ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रायोजन गर्दैआएको सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने भएको छ ।