बागलुङको गलकोट नगरपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च वितरण गरेको छ । ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जनही तीन हजार रुपैयाँको दरले चाडपर्व भत्ता वितरण गरेको हो ।
चाडपर्व खर्च वितरणको लागि प्रत्येक वडामा रकम निकासा भएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता अधिकारीले जानकारी दिइन् । नगरका ११ वटै वडाले घर-घरमै पुगेर भत्ता वितरण गरिरहेका छन् । दसैँअघि प्राविधिक कारणले रकम निकासा नहुँदा दसैँका बेला रकम वितरण हुन सकेको थिएन ।
नगरपालिका भित्र ८५ बर्षमाथिका २०२ नागरिक छन् । गलकोट नगरपालिका-१ मा सबैभन्दा बढी ४६ जना र वडा नं.४ र ७ मा सबैभन्दा कम ११/११ जना छन् । यसैगरी वडा-२ मा १८, वडा-३ मा २३, वडा-६ मा २७, वडा-८ मा २२, वडा-९ मा १७, वडा-१० मा ३१ र वडा-११ मा २३ जना ज्येष्ठ नागरिक रहेको नगरपालिका कार्यालयले जानकारी दिएको छ ।
नगरसभाले चाडपर्व भत्ताको लागि आठ लाख रुपैयाँ विनियोजन गरेको थियो । नगरपालिकाले विगत तीन वर्षदेखि ज्येष्ठ नागरिकलाई सम्मान तथा स्थानीय सरकारको अनुभूति हुने गरी चाडपर्व खर्च र सम्मानको कार्यक्रमलाई निरन्तरता दिएको मेयर भरत शर्मा गैरेले बताए ।
‘आफ्नो गोजीमा दुई चार पैसा हुँदा बलियो अनुभव हुन्छ’, रिघाका ९७ वर्षीय पतिराम पुनले भने, ‘घरमै भत्ता पाउँदा सरकारले बुढाबुढीको सुरक्षा गर्छ कि भन्ने आशा पलाएको छ ।’