थाइल्यान्डमा विदेशी पर्यटकहरुका लागि लाग्दै आएको प्रतिबन्ध १८ महिनापछि खुला गरिएको छ । यात्रा प्रतिबन्ध हटेसँगै ६० भन्दाबढी देशका पूर्ण खोप लगाएका पर्यटकहरु थाइल्याण्ड घुम्न जान पाउने भएका छन् । अब थाइल्याण्ड भ्रमण गर्ने पर्यटकहरुले क्वारेन्टिनमा बस्नुपर्ने छैन । कोरोना महामारीले थाइलेन्डको अर्थतन्त्रलाई चौपट पारेको छ । कोभिड संक्रमण हुनुअघि थाइल्याण्डमा हरेक वर्ष ४ करोड पर्यटक घुम्न जान्थे । कोभिडका कारण गत वर्ष पर्यटक आगमनमा ८० प्रतिशतले गिरावट आएको थियो । ‘दुई वर्षसम्म हामीले कुनै काम गर्न पाएनौं । अहिले सबै खुकुलो भएको छ,’ पथ प्रदर्शक चियायगोर्न बुनयापाक भन्छन् । तर, उनलाई ग्राहकले अहिलेसम्म सम्पर्क गरेका छैनन् । पर्यटन क्षेत्र पहिल्यैको अवस्थामा फर्किन अझै दुई तीन महिना लाग्ने अनुमान गरिएको छ । ‘सरकारले पर्यटन क्षेत्र सहज ढंगले खोल्नेमा मलाई शंका नै लाग्छ । आशा छ सबै क्षेत्र पुनः सञ्चालनमा आउनेछ । काममा फेरि फर्किन पाउँदा निकै खुसी लागेको छ, ’ बुनयापाक भन्छन् ।
बेलायत, चीन, जापान, अमेरिका र युरोपका अधिकांश देशका लागि उडान सञ्चालन हुने वैंकक र फुकेटका विमानस्थलहरु खुला गरिएका छन् । सरकारले सन् २०२३ सम्म देशको अर्थतन्त्रलाई कोभिडपूर्वको अवस्थामा फर्काउने तयारी गरेको छ । तर, चीनसँगको सीमा बन्दका कारण पर्यटन क्षेत्रमा असर गर्ने विज्ञहरु बताउँछन् । सन् २०१९ मा चीनबाट १ करोड २० लाख पर्यटक थाइल्याण्ड गएका थिए । थाइल्याण्डमा अझै पनि केही प्रतिबन्ध लागू गरिएका छन् । अहिलेसम्म ४२ प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन् । त्यहाँ अझै पनि दैनिक कोभिडका १० हजार नयाँ संक्रमित भेटिएका छन् ।
अमेरिका पूर्ण खोप लगाएका सबैलाई खुला
अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ । पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो । कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो । त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो ।
यात्रा प्रतिबन्धका कारण कतिपय विदेशी नागरिकहरुले आफ्ना परिवारका सदस्यसँग भेट गर्न पाएका थिएनन् । प्रतिबन्धसँगै अमेरिकाको पर्यटन क्षेत्रले पनि ठूलो मूल्य चुकाएको थियो । नयाँ यात्रा प्राधानअनुसार अब अमेरिका यात्रा गर्ने हरेक व्यक्तिले उड्नुअघि पूर्ण खोप लगाएको प्रमाण र पछिल्लो ७२ घन्टाभित्र कोभिड नेगेटिभ देखिएको परीक्षण देखाउनु पर्नेछ । अमेरिकाले सात ओटा खोपलाई मान्यता दिएको छ ।
अष्ट्रेलिया छ सय दिनपछि क्रमश: खोलिँदै
छ सय दिन बन्द रहेको अष्ट्रेलियाको सिमाना गत हप्तादेखि चरणबद्ध रुपमा खोल्न शुरु गरिएको छ । सबभन्दा बढी जनघनत्व रहेका न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा पूर्ण खोप लगाएकाहरुलाई प्रवेश दिन थालिएको छ । उनीहरुलाई क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरिएको छ । गत सोमबार छिमेकी न्यूजिल्याण्डबाट पूर्ण खोप लगाएको र कोभिड परीक्षणमा एक समूहलाई प्रवेश गराएर चरणबद्ध सीमा खुला निति कार्यान्वयन गर्न थालिएको हो । नेपाल लगायत विदेशी विद्यार्थीका हकमा पनि चरणबद्ध र सीमित संख्यामा प्रवेश दिन थालिएको छ । अर्को महिना अर्थात् डिसेम्बर सम्ममा विद्यार्थी पनि प्रवेश गराउने प्रयास भैरहेको शिक्षा उद्यमीहरुले बताएका छन् । त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले न्युजिल्याण्डदेखि सिंगापुरसम्मको सिमाना खुला गरेर पूर्ण खोप लगाएकाहरुलाई आवागमन गर्न दिने कुरा गत हप्ता रोममा आयोजित G-20को पत्रकार सम्मेलनमा घोषणा गरेका थिए । तर अष्ट्रेलियामा भेरोसेल खोपलाई भने मान्यता छैन ।