केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर-घरमा पुगी तथ्याङ्क सङ्कलन गर्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र ८ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिइएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय संरचना तयार गरिएको छ ।
विभागले घर तथा घरपरिवार लगत सूचीकरण कार्य सम्पन्न गरेको छ । एक गणकले करिब १५० घरसम्म पुग्नुपर्ने दायित्व दिइएको विभागले जनाएको छ । जो मानिस धेरैजसो (अक्सर) जहाँ बसोबास गर्छ, त्यहीँबाट उसको गणना हुनेछ ।
नेपालको संविधानमा विभिन्न जाति, भाषा, लिङ्ग, धर्म, वर्ग, क्षेत्र, अपाङ्गता भएका लगायत सबै पक्षको अधिकार सुनिश्चित गरिएकाले जनगणनाले त्यसै प्रकारको तथ्याङ्क ल्याउने गरी तयारी पूरा गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । काठमाडौँलगायत सहरी क्षेत्रमा गणनाको कार्य चुनौतीपूर्ण हुने भएकाले त्यसमा सहयोग गर्न उनले सबैसँग आग्रह गरेका छन् । साथै गणनाका विवरण गोप्य हुने जनाउँदै उनले मागेको तथ्याङ्क नदिने कार्य कानूनविपरीत हुने पनि बताएका छन् । महानिर्देशक श्रेष्ठले जनगणना सम्पन्न भएपछि राष्ट्रिय कृषि गणना गरिने पनि जानकारी दिए ।
विभागले मुख्य प्रश्नावलीमा आर्थिक काम, पेशा, वस्तु वा सेवाको उत्पादन अनुसारको विवरण, परिवारमा खानेपानी, इन्धन, सञ्चारसाधन, महिलाका नाममा सम्पति, घरेलु व्यवसाय, मातृमुत्यु दरको आँकलन, विदेशमा रहेका व्यक्ति आदिबारे सोध्ने गरी प्रबन्ध गरेको छ । जनगणना सकिएको तीन महिनामा प्रारम्भिक नतिजा आउनेछ ।
नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरिएको छ । मुलुकमा पहिलो जनगणना १०९ वर्षअघि विसं १९६८ मा चन्द्रशम्शेर जबरा प्रधानमन्त्री भएका बेला गरिएको थियो ।