धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । तिहारको विदापछि खुलेको बजारमा नेप्से परिसूचक राताम्मे देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.२० अङ्कले घटेर २ हजार ८२९.६४ मा ओर्लेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा ओर्लेको छ । कारोबार रकम पनि खासै बढेको छैन । कुल २३० कम्पनीका ७२ लाख ७ हजार ३९६ कित्ता शेयर रु ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ मूल्यमा खरिद बिक्री भए ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये सोमबार ३ उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ ।
वित्त २१, सामूहिक लगानी कोष ०.०८ र लगानी उपसमूह ०.६३ अङ्कले बढेको छ । त्यस्तै, बैंकिङ १९.९६, व्यापार १४.७६, होटेल तथा पर्यटन २९.६५, विकास बैंक ७०.०५, जलविद्युत् १३.०२, निर्जीवन बीमा १३७.३७, उत्पादन २९.३६, अन्य २३.१२, लघुवित्त ५५.३५ र जीवन बीमा १००.०४ अङ्कले घटेको छ ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ५२ करोड १० लाख ३ हजार ५९० बराबरको कारोबार भयो । त्यस्तै, नबिल बैंक रु ३० करोड ३३ लाख २९ हजार, आइसिएफसी फाइनान्स रु २२ करोड ४० लाख ८१ हजार ५२१, नेशनल हाइड्रोपावर रु १५ करोड ४१ लाख ५८ हजार र युनाइटेड मोदी हाइड्रोपावर रु १४ करोड ८ लाख ४० हजार ४२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार आइसिएफसी फाइनान्स, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाए । अर्कोतर्फ सपोर्ट माइक्रोफाइनान्स ७.९६, पाँचथर पावर ४.९५, कालिका पावर ४.७०, हिमालयन ऊर्जा विकास कम्पनी ४.३० र जोशी हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशतले गुमाए ।