राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन् ।
पदावधि समाप्त हुने अन्य सदस्यहरूमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, कोमल वली, खिमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, दीनानाथ शर्मा, दृगनारायण पाण्डे, नैनकला ओझा, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी जी.सी., शेरबहादुर कुँवर र सुमनराज प्याकुरेल छन् ।
यसरी कार्यकाल सकिन लागेकामा नेकपा (एमाले)का ८, नेकपा (एकीकृत समाजवादी)का ४, नेकपा (माओवादी केन्द्र)का ४, नेपाली कांग्रेसका ३ जना र राष्ट्रपतिबाट मनोनीत १ जना छन् ।
विसं २०७५ असार ४ गते गोला प्रथाबाट चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । चारवर्षे पदावधि सकिनेमा ७ महिला, दलित समुदायका ३, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट २ र अन्य समुदायका ७ सदस्य छन् ।
स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ । तर पहिलो पटकका लागि एकतिहाइ सदस्यका लागि २ वर्ष, अर्को एकतिहाइका लागि ४ वर्ष र बाँकी एकतिहाइका लागि ६ वर्ष गरी गोला प्रथाबाट अवधि निर्धारण गरिएको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सरकारले राजनीतिक दलको सहमतिमा एकतिहाइ सदस्यको रिक्त हुने पदका लागि निकट भविष्यमै निर्वाचनको मिति घोषणा गर्ने यसअघि नै जनाइसकेको छ । सदस्यको पदावधि समाप्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
राष्ट्रियसभा सदस्यका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्छ । प्रवुद्ध समूहको प्रतिनिधित्व हुने भएकाले राष्ट्रियसभालाई परिपक्व सदन मानिन्छ । विसं २०७४ मा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)बाट २७, नेपाली कांग्रेसबाट १३, नेकपा (माओवादी केन्द्र)बाट १२ तथा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र सड्घीय समाजवादी फोरमबाट २/२ सदस्य निर्वाचित भएका थिए ।