सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको विपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ ।
पार्कभित्रको विपी र पुष्पलालको सालिक एमाले महासचिव ईश्वर पोखरेलबाट अनावरण गराउने नगरपालिकाको कार्यक्रमको सत्ता गठबन्धनका दलहरूले विरोध गर्दा विवाद उत्पन्न भई स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले त्यहाँ निषेधाज्ञा जारी गरेको हो । विवाद बढेपछि सालिक अनावरण गर्ने कार्यक्रम स्थगित गरिएको छ भने बुधबार बिहान ११ बजेदेखि मध्यराति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा सिन्धुलीमाढीस्थित बसपार्क क्षेत्र, स्टलबजार, जुनार चोक, सिन्धुली अस्पताल आसपासको क्षेत्रमा जारी गरिएको छ ।
निशेधाज्ञामा उक्त क्षेत्रमा जुलुस, धर्ना, आमसभालगायत शान्ति सुरक्षामा असर पुग्ने कुनै पनि किसिमका कार्यहरू गर्न पाईने छैन । सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको विपी र पुष्पलालको सालिक अनावरण एमाले महासचिव पोखरेलले बुधबार बिहान १० बजे गर्ने कार्यक्रम थियो ।
सर्वदलीय निर्णयबाट सालिक अनवारण गर्नुपर्ने मागसहित सत्ता गठबन्धन दलले विरोध गर्दै मंगलबार पार्कमा तालाबन्दी गरेका थिए । बुधबार बिहान लामो समयसम्म सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेका नेता कार्यकर्ताबीच विवाद भएको थियो ।
कुनै पनि पार्टीको व्यक्तिले सालिक अनावरण गर्न नमिल्ने भन्दै कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले सालिक अनावरण गर्न रोक गरेका थिए । गठबन्धन दलका कार्यकर्ताहरूले पार्कलाई घेरेका थिए भने एमालेसम्बद्ध नेता तथा भ्रातृ संगठन युवा संघका कार्यकर्ता ठूलो संख्यामा जम्मा भएका थिए । विवाद बढेपछि व्यापकमात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
