चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रशारणको विद्युत पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत आपूर्ति गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति गर्न सुरु गरिएको थियो ।
.jpg)
होङ्शीले ३० मेगावाट विद्युत खपत गर्ने छ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत चाहिने छ । उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै विद्युत दिइएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१ दशमलव ५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति गरिएको छ । ११ / ३३ केभी प्रसारण मेगावाटलाइनबाट विद्युत आपूर्ति लिने ग्राहककोभन्दा १३२ केभीको महसुल सस्तो छ ।
विद्युत लाइन पुग्न नसक्दा उद्योगले एक दशमलव चार मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक रूपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ ।
उद्योगका लागि निर्माण भइरहेको बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योगलाई विद्युत दिइएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ दुम्कीबासमा बर्दघाट-भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति गरिएको हो ।
कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधजस्ता धेरै समस्या कारण प्रसारण लाइनको निर्माण अझै नसकिए पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत दिन सकिएको बताए ।
‘मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउन ठूला उद्योगहरूले मागे जति विद्युत दिइरहेका छौं, गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरूको क्षमता बढाउने, सुदृढीकरण गर्नेलगायतका काम अभियानकै रूपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिनेछ’, घिसिङले भने । ‘ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने छौं ।’