विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आह्वान गरेको नेपाल बन्दको प्रभाव आज देशका विभिन्न ठाउँमा आंशिक रूपमा परेको छ । राजधानी लगायत देशका विभिन्न स्थानमा उद्योग-कलकारखाना, विद्यालय तथा यातायात सेवामा यसको बढी असर परेको देखिन्छ । लामादूरीका यातायातका साधनहरू चल्न सकेका छैनन् ।
राजधानीमा विद्यालयहरू अधिकांश बन्दछन् भने यातायातका साधनहरू पनि सडकमा अन्य दिनहरूमाभन्दा पातलो देखिएको छ । मुख्य बजार क्षेत्रका पसल पनि आंशिक मात्रै खुलेका छन् । भित्री पसहलहरू भने खुलेका छन् ।
लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । बुटवलमा भने केही स्थानमा मात्र आन्दोलनकारी देखिएका छन् । मुख्य सडकका धेरै ठाउँमा आन्दोलनकारी छैनन् । ठाउँठाउँमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ ।
जवर्जस्ती बन्द गराउँदै हिंड्नेहरूबाट कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताएका छन् ।
यसैगरी दमौलीमा बन्दको प्रभाव बिहानैदेखि परेको छ । सडक र बजारमा खासै चहलपहल देखिएको छैन । नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
सदरमुकाम दमौलीस्थित ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर संगठनको जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशंकर लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बन्दको असर पोखरामा पनि परेको छ । प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ ।
बन्द गराउँदै हिँडेका नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले पक्राउ परेकासँग सोधपुछ भइरहेको बताए ।
नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात खासै चलेका छैनन् भने निजी सवारीसाधन पनि फाट्टफुट्ट मात्रै गुडेका छन् । बजार पसल फाट्टफुट्ट मात्रै खुलेका छन् । अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।
यसैगरी बन्द सफल बनाउन भन्दै सवारी रोक्ने १० जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो । सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पुर्याउन पाएका छैनन् । थापाले भने, “जिल्लाभर अवरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।”
बन्द आह्वानका कारण अन्य दिनमा झै सवारी साधन भने चलेका छैनन् । बिहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ ।