प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तनबाट सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवर्द्धनमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् । उनले भने, “जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन तर यसको मारमा हामी पनि परेका छौँ । त्यसको निराकरणका लागि स्वच्छ ऊर्जाको विकास नै अहिलेको आवश्यकता हो ।”
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९औँ र २०औँ वार्षिक साधारणसभालाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले जैविक इन्धनको अत्यधिक खपतले समस्या विकराल बन्दै गएको बताए । जलवायुमा आएको परिवर्तनले गर्दा बाढी, पहिरो, बेमौसमी वर्षामा वृद्धि भएको र हिमाल नाङ्गै हुने अवस्था आएको भन्दै उनले यसले ठूलो समस्या निम्त्याउने भएकाले समयमै सचेत हुनुपर्ने बताए ।
प्रधानमन्त्रीले यहाँ उत्पादित बिजुली देशभित्रै खपत गर्ने कार्ययोजनाका साथ सरकार अगाडि बढेको भन्दै विद्युतीय सवारी साधन तथा इन्डक्सन चुल्होको प्रयोग बढाउन सरकारले विशेष कार्ययोजना बनाएर लागू गर्ने उल्लेख गरे ।
प्रधानमन्त्रीले भने, “आफ्नो देशको बिजुली नेपालमा नै खपत गर्नुपर्छ । त्यसका लागि सरकार अनुदान दिन तयार छ ।” ऊर्जा क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने उनले बताए ।
कर्यक्रममा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जलविद्युत् मुलुकको प्राथमिकताप्राप्त क्षेत्र भएकाले बैंक तथा वित्तीय संस्थाको ब्याजदर एक अङ्कमा कायम गर्न माग गरे । उनले भारत, बङ्गलादेशसँग निश्चित समयसीमाभित्र विद्युत् व्यापारका लागि आवश्यक उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारको ध्यानाकर्षण गराए ।