आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपको लागि १३ राष्ट्रले स्थान सुरक्षित गरेका छन् । मंगलबार राति र बुधबार बिहानको खेलसँगै विश्वकपका लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
युरोपेली छनोटका १० समूहका समूह विजेता, दक्षिण अमेरिकी छनोटका शीर्ष दुई टोली र आयोजक राष्ट्रको नाताले कतारले सिधै विश्वकपमा स्थान बनाएका हुन् ।
युरोपेली छनोटको समूह ‘ए’ बाट सर्बिया, समूह ‘बी’ बाट स्पेन, समूह ‘सी’ मा स्विजरल्याण्ड, समूह ‘डी’ बाट साविक विजेता फ्रान्स, समूह ‘इ’ बाट बेल्जियम, समूह ‘एफ’ बाट डेनमार्क, समूह ‘जी’ बाट नेदरल्याण्ड, समूह ‘एच’ मा क्रोएशिया, समूह ‘आई’ बाट इंग्ल्याण्ड र समूह ‘जे’ बाट जर्मनीले समूह विजेता बनेर विश्वकपमा स्थान बनाएका हुन् ।
पोर्चुगल, स्कटल्याण्ड, इटाली, रसिया, स्विडेन, वेल्स, टर्की, पोल्याण्ड, नर्थ म्यासेडोनिया, युक्रेन, अष्ट्रिया र चेक रिपब्लिक गरी १२ देशले भने विश्वकप खेलमा स्थान बनाउनको लागि प्लेअफ बाट छानिनु पर्ने भएको छ । प्लेअफ खेल्नेमध्ये विजेता ३ वटा राष्ट्रले मात्रै विश्वकप खेल्न पाउने छन् ।
मार्चमा हुने प्लेअफको खेलमा यी १२ टोलीलाई तीन समूहमा विभाजन गरी खेलाइने छ र यी तीन समूहबाट एक-एक टोली विश्वकप खेल्नका लागि छानिने छन् ।
यसैगरी दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिनाले विश्वकपमा स्थान बनाइसकेका छन् । एसिया र अमेरिकासहित अफ्रिकाबाट छनोट हुन बाँकी नै छ ।
विश्वकपमा स्थान सुरक्षित गरेका राष्ट्र
बेल्जियम, क्रोएशिया, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, सर्विया, स्पेन, स्विजरल्याण्ड, ब्राजिल, अर्जेन्टिना, कतार (आयोजक)
प्लेअफ खेल्ने टोली
पोर्चुगल, स्कटल्याण्ड, इटाली, रसिया, स्विडेन, वेल्स, टर्की, पोल्याण्ड, नर्थ म्यासेडोनिया, युक्रेन, अष्ट्रिया, चेक रिपब्लिक