स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा फाइजर खोप अभियान अवलोकनका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई लिएर पुगेका मन्त्री खतिवडाले खोपको अभाव नरहेकाले जुनुसुकै खोप केन्द्रमा गई सर्वसाधारणले खोप लगाउन सक्ने बताए ।
“अव कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पदैन” उनले भने, “सर्वसाधारणले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन् ।”
उनका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल र नेपाल पुलिसको अस्पतलामा २४ सै घण्टा सर्वसाधारणलाई खोपको व्यवस्था गरिएको छ । मन्त्री खतिवडाले केही दिनपछि जिल्लामा पनि जुनुुसुकै बेला सर्वसाधारणले खोप लगाउन सक्ने गरी व्यवस्थापन गर्न लागिएको बताए ।
फाइजर खोप पहिलो चरणमा १२ वर्ष उमेरदेखि माथिका दीर्घरोगीलाई दिइएको छ । “खोपले के कस्तो प्रभाव पार्छ भनेर हामीले जनशक्तिलाई प्रशिक्षित गर्न पहिलो चरणमा दीर्घरोगीलाई खोप लगाउन थालेका हौँ” उनले भने ।
मन्त्री खतिवडाले एक महिनापछि १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिन थालिने बताए । सरकारले ६० लाख मात्रा फाइजर खोप ल्याउन अन्तिम तयारी गरेको छ । उनले कोरोना भाइरस विरुद्धको खोप शतप्रतिशत जनतासम्म पुर्याउने बताए ।
साथै कोरोना भाइरसको महामारीका बेला काम गरेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराइने पनि उनले बताए । “अर्थमन्त्रालयसँग रकम माग गरेका छौँ”, उनले भने ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाललाई कोरोना भाइरसविरुद्धको लडाईमा अमेरिकी सरकारले सुरुदेखि नै साथ दिएको बताए । कोभ्याक्स मार्फत नेपाललाई थप खोप उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।
फाइजर खोपको पहिलो मात्रा लगाउने अभियान कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म देशभरका २४ वटा अस्पतालमा सञ्चालन भइरहेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई १ लाख ६२० मात्रा खोप उपलब्ध गराएको हो ।