शीर्ष डिभिजन लिग आज शुक्रबारबाट सुरु हँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिगको उद्घाटन खेलमा ललितपुरका दुई टोली नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
साँझ पौने ५ बजे सुरु हुने लिगको उद्घाटन खेलमा दुवै क्लब जितका साथ तीन अंक एकतर्फी पार्ने योजनामा हुनेछन् ।
सातदोबाटो युथ क्लब यसै सिजन भएको ‘बी’ डिभिजन लिगबाट दुई खेल अघि नै ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो । फ्रेण्ड्सले भने झण्डै चार दशकदेखि लगातार ए डिभिजन लिग खेल्दै आएको छ ।
खेलअघिको पत्रकार सम्मेलनमा दुबै टोलीले एक अर्कालाई कमजोर नआक्ने र तिन अंकको लागि खेल्ने बताए ।
फ्रेण्ड्स क्लबका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले शीर्ष डिभिजनको लिगमा सबै विपक्षी बलियो हुने बताउँदै सातदोबाटो नयाँ भए पनि जोस र जाँगरका साथ खेल्ने योजना सुनाए । उनले सातदोबाटोविरुद्धको खेल सहज नहुने स्वीकारे ।
फ्रेण्ड्सका कप्तान सुरज बिकले पनि प्रशिक्षकको भनाईमा सहमति जनाउँदै सातदोबाटोलाई कम नमानेको र ३ अंकको लागि खेल्ने बताए ।
पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो भने विगतका दिनमा ए डिभिजन लिग खेलेका र विदेशी खेलाडीको साथमा लिगमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ ।
शीर्ष डिभिजनको पहिलो खेलमा सातदोबाटोको नजर तिन अंकमा हुनेछ । ‘ए डिभिजन लिग खेल्न पाउँनु नै ठूलो कुरा हो । नेपाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका केसीले भने ।
क्लबका कप्तान मानबहादुर तामाङले नयाँ क्लबलाई चुनौतीको रुपमा लिएको र लिगमा सातदोबाटो नयाँ भएकाले अनुभव बाड्न आएको प्रतिक्रिया दिएका छन् ।
करिब ४ महिना हुने लिगमा १४ क्लबको सहभागिता छ । राउण्ड रोबिन पद्दतिमा हुने लिगमा ९१ खेल हुनेछन् । लिगको शीर्षस्थानको टोली एएफसीको प्रतियोगिताका लागि छनोट हुनेछ भने पुछारका दुई टोली ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन् ।