इलाम नगरपालिका-७ मा साढे चार करोड रुपैयाँको लगानीमा फनपार्क निर्माण भएको छ । पार्कको नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
फनपार्कमा चारवटा डिब्बा भएको मिनी रेल, रोटे पिङ, एडल्ट बुल राइड, ढिकिच्याउँ, स्प्रिङ जम्पर, चप्लेटि, फ्लाइङ कार, कोलम्बस राइडलगायतका खेल सामग्री छन् । फनपार्कमा १४ वटा खेल्ने सामग्री र १६ वटा अन्य भौतिक वस्तु निर्माण गरिएको इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाईंले जानकारी दिए । फनपार्कमा शाैचालय, पिलर अप लाइट, वालअफ नलेज, प्रवेशद्वार, टिकट काउन्टर, क्यान्टिन निर्माण गरिएको छ ।
करिब ४ करोड ५७ लाख ४२ हजार रुपैयाँको लागानीमा फनपार्क निर्माण पूरा भएको नगरपालिकाले जनाएकाे छ । नगर विकास कोषको तीन करोड ३५ लाख ३० हजार ऋण र इलाम नगरपालिकाको एक करोड २२ लाख फनपार्क निर्माणमा लगानी गरिएको छ । नगर विकास कोषले दुई वर्ष सहुलियतसहित २० वर्षमा साँवा ब्याज भुक्तानी गरिसक्नुपर्ने गरी ऋण उपलब्ध गराएको हो ।
आदर्श माविको जग्गामा नगरपालिकाले बनाएको फनपार्क पाँच वर्षसम्म इलाम नगरपालिकालेनै सञ्चालन गर्नेछ । त्यसपछि भने फनपार्कको सञ्चालन आदर्श माध्यमिक विद्यालयले गर्नेछ । आदर्श माविको तीन रोपनी तीन पैसा जग्गामा निर्माण गरिएको फनपार्कको आम्दानी पाँच वर्षपछि विद्यालयकै हुने छ । नगर विकास कोषको ऋण भने नगरपालिकालेनै भुक्तानी गर्नेछ ।